कांग्रेसले सातै प्रदेशका शीर्ष नेतासँग छलफल गर्दै, गण्डकीको मन्त्री हेरफेर मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसले आज सातै प्रदेशका सभापति, प्रदेश संसदीय दलका नेता तथा कांग्रेस नेतृत्वमा रहेका मुख्यमन्त्रीहरूसँग केन्द्रीय स्तरमा महत्वपूर्ण छलफल गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने छलफलमा सातै प्रदेशका सभापति, मुख्यमन्त्री र प्रदेश संसदीय दलका नेताहरूलाई आमन्त्रण गरिएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् ।

छलफलमा कांग्रेस नेतृत्वमा रहेका प्रदेश तथा स्थानीय सरकारहरूको कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउने विषयलाई मुख्य एजेन्डा बनाइएको छ ।

त्यसैगरी, बैठकमा गण्डकी प्रदेशमा हालै गरिएको मन्त्री हेरफेरको विषय पनि उठ्ने भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केन्द्रसँग परामर्श नगरी मन्त्री नियुक्त तथा हेरफेर गरेको विषयलाई लिएर पार्टीभित्र असन्तुष्टि देखिएपछि छलफल केन्द्रित हुने बताइएको छ ।

गण्डकी प्रदेशमा कांग्रेस–एमालेबीच ४/४ मन्त्रालय भागबन्डा रहेको अवस्थामा मुख्यमन्त्री पाण्डेले बुधबार मन्त्री परिवर्तन गरेका थिए । यस विषयले केन्द्रीय नेतृत्व र प्रदेश नेतृत्वबीच समन्वयको प्रश्नसमेत उठाएको छ ।

यसअघि बिहीबार बसेको कांग्रेस कार्य सम्पादन समितिको बैठकले उपसभापति विश्वप्रकाश शर्मालाई प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूसँग समन्वय गर्ने जिम्मेवारी दिएको थियो । कांग्रेसले मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गरिरहेको छ ।

यसैबीच, आजै कांग्रेसले काठमाडौं जिल्लाको निर्वाचन समीक्षा गर्न पनि विस्तारित बैठक बोलाएको छ । धुम्बाराहीस्थित सूर्य क्याटरिङमा दिउँसो १२ बजे बस्ने उक्त बैठकमा पार्टी सभापति गगन थापा प्रमुख अतिथि रहने कार्यक्रम रहेको छ ।

Facebook Comments Box
TOP
359 Shares