

समस्याग्रस्त सहकारीका ऋणीलाई १५ दिनभित्र ऋण चुक्ता गर्न अन्तिम चेतावनी, नतिरे कठोर कारबाही हुने
काठमाडौं । समस्याग्रस्त सूचीमा परेका सहकारी संस्थाका ऋणीहरूलाई १५ दिनभित्र सम्पूर्ण ऋण चुक्ता गर्न सरकारले अन्तिम चेतावनी दिएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आज सूचना जारी गर्दै ऋणी, सञ्चालक तथा सम्बन्धित कर्मचारीलाई तत्काल ऋण फर्छ्यौट गर्न आग्रह गरेको हो।
समितिका अनुसार सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा भएका २५ भन्दा बढी सहकारी संस्थाका ऋणीहरूलाई साँवा, ब्याज तथा हर्जानासहितको सम्पूर्ण बक्यौता १५ दिनभित्र बुझाउन निर्देशन दिइएको छ। यसअघि पटक–पटक ताकेता गरिए पनि ऋण नतिरेपछि अन्तिम चेतावनी जारी गरिएको समितिले जनाएको छ।
समितिले तोकिएको समयभित्र ऋण नतिरे कडा कारबाही गरिने स्पष्ट पारेको छ। कारबाहीका रूपमा ऋणीको नाम सार्वजनिक गर्ने, चल–अचल सम्पत्ति तथा बैंक खाता रोक्का गर्ने, सरकारी तथा सार्वजनिक सेवा सुविधा रोक्का गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने र धितोमा राखिएका सम्पत्ति लिलाम बिक्री गर्ने प्रक्रिया अघि बढाइनेछ।
समितिको सूचनामा उल्लिखित समस्याग्रस्त सहकारीहरूमा स्टाण्डर्ड सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड,लु:निभा बहुद्देश्यीय सहकारी संस्था लि., प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेण्ट को–अपरेटिभ लिमिटेड, सोसाइटल बचत तथा ऋण सहकारी संस्था, प्रभु बचत तथा ऋण सहकारी संस्था, ओरेण्टल को–अपरेटिभ लिमिटेड, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था, कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लगायत २० भन्दा बढी सहकारीहरू समावेश छन्।
त्यस्तै, श्री आइडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थामा समायोजित नागरिक कल्याण, घेदुङ्ग, आइडल यमुना, तपाई हाम्रो र हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था पनि यस सूचीमा परेका छन्।
समितिले सबै सम्बन्धित ऋणीहरूलाई अन्तिम मौका प्रयोग गर्दै १५ दिनभित्र कार्यालयमा सम्पर्क गरी ऋण राफसाफ गर्न आग्रह गरेको छ।
समाज
थप सामाग्री
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
११ घण्टा अगाडि
1.7kViews 494 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी वृत्त नयाँ…



