भ्रामक समाचारप्रति मधेश प्रदेश प्रहरीको आपत्ति, डीआईजी थपलियाविरुद्धको दुष्प्रचार खण्डन

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन तथा कर्मचारीको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले फैलाइएका भ्रामक र आधारहीन समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बिहीबार जारी प्रेस विज्ञप्तिमार्फत मधेश प्रदेश प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कमल थापाले प्रहरी जवान रोशन यादवसँग सम्बन्धित समाचार तथा प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियामाथि लक्षित टिप्पणीहरूको खण्डन गरेका हुन्।

प्रहरीका अनुसार हालै केही अनलाइन माध्यम र सामाजिक सञ्जालमार्फत डीआईजी थपलियाको छवि धुमिल पार्ने नियतले योजनाबद्ध रूपमा दुष्प्रचार भइरहेको छ। सिमानामा हुने तस्करी नियन्त्रण, अपराध नियन्त्रण तथा शान्ति सुरक्षामा कडाइ गरेपछि असन्तुष्ट समूह—माफिया, बिचौलिया तथा तस्कर—प्रहरी नेतृत्वविरुद्ध सक्रिय भएको दाबी विज्ञप्तिमा गरिएको छ।

विज्ञप्तिमा उल्लेख गरिएअनुसार, मिति २०८३ वैशाख ९ गतेको घटनालाई तोडमोड गरी ‘डीआईजीको कार्यकक्षमै प्रहरी जवानद्वारा आत्महत्याको प्रयास’ भन्ने शीर्षकमा प्रकाशित समाचार पूर्णतः असत्य र भ्रामक रहेको प्रहरीको भनाइ छ। प्रहरी चौकी जानकीचोक, धनुषामा कार्यरत प्रहरी जवान रोशन यादवलाई सोधपुछका लागि कार्यालय बोलाइएको र लिखित स्पष्टीकरण मागिएको भए पनि उनले पछि बुझ्ने भन्दै कार्यालयबाट बाहिरिएको जनाइएको छ।

प्रहरीले स्पष्ट पारेको छ कि उक्त क्रममा रोशन यादवलाई कुनै पनि प्रकारको मानसिक दबाब वा दुर्व्यवहार गरिएको थिएन। साथै, उनी कार्यालयबाट बाहिरिएको सीसीटीभी फुटेजसमेत प्रमाणका रूपमा संलग्न गरिएको विज्ञप्तिमा उल्लेख छ।

यसैबीच, डीआईजी थपलियामाथि तस्करीसँग जोडिएको आरोप लगाउँदै सार्वजनिक गरिएका अडियो संवादहरू पनि बनावटी र भ्रामक भएको प्रहरीको दाबी छ। घटनासँग सम्बन्धित विषयमा जिल्ला प्रहरी कार्यालय, धनुषामा कार्यरत वरिष्ठ सई सागरशम्शेर राणालाई कारबाही गरिएको र उनी स्वयंले आरोप अस्वीकार गर्दै आएका छन्।

प्रहरीका अनुसार केही व्यक्तिहरूले संगठित रूपमा प्रहरी नेतृत्वलाई कमजोर पार्ने, हतोत्साहित गर्ने र अनुकूल अधिकारी ल्याई अवैध गतिविधि पुनः सञ्चालन गर्ने उद्देश्यले यस्ता गतिविधि गरिरहेका छन्।

प्रवक्ता थापाले सञ्चारमाध्यम तथा पत्रकारहरूलाई समाचार प्रकाशन तथा प्रसारण गर्दा प्रमाणमा आधारित, सन्तुलित र जिम्मेवार पत्रकारिताको अभ्यास गर्न आग्रह गरेका छन्। साथै, अपुष्ट र भ्रामक सामग्री प्रकाशन नगर्न समेत अनुरोध गरिएको छ।

मधेश प्रदेश प्रहरीले यस्ता दुष्प्रचारका प्रयासप्रति सजग रहँदै तथ्यमा आधारित सूचना सम्प्रेषण गर्न सबै पक्षलाई आग्रह गरेको छ।

Facebook Comments Box
भ्रामक समाचारप्रति मधेश प्रदेश प्रहरीको आपत्ति, डीआईजी थपलियाविरुद्धको दुष्प्रचार खण्डन
१९ घण्टा अगाडि

4.6kViews 448 Shares Share on Facebook Share on Twitter काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन तथा कर्मचारीको…

TOP
448 Shares