थापाथलीमा सुकुम्बासी बस्ती हटाउन सुरु, डोजरसँगै सुरक्षा कडाइ

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउने कार्य आजदेखि औपचारिक रूपमा सुरु गरिएको छ। सरकारले शनिबार बिहानैबाट डोजर परिचालन गर्दै थापाथलीसहित मनोहरा र सिनामंगल क्षेत्रका अव्यवस्थित बस्ती खाली गराउन थालेको हो।

थापाथली क्षेत्रमा बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। बस्ती हटाउने क्रममा हुन सक्ने सम्भावित तनावलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिकाबीच समन्वय गरी कार्य अघि बढाइएको जनाइएको छ।

सरकारी निर्णयअनुसार यसअघि नै सुकुम्बासी बस्ती खाली गर्न सार्वजनिक सूचना जारी गरिएको थियो। महानगरपालिकाले माइकिङमार्फत स्थानीयलाई स्थान खाली गर्न आग्रह गरेको थियो।

गत बुधबार साँझ उच्चस्तरीय छलफलपछि प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखहरूलाई अव्यवस्थित बस्ती हटाउने कार्यलाई तीव्रता दिन निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार शनिबार र आइतबार बस्ती हटाउने कार्य सञ्चालन गरिएको हो।

सरकारले सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियान अन्तर्गत यो कदम चालेको जनाएको छ भने प्रभावित परिवारहरूको व्यवस्थापनबारे थप योजना सार्वजनिक हुने अपेक्षा गरिएको छ।

Facebook Comments Box
TOP
440 Shares