

मनाङेलाई नियन्त्रणपछि रिहा: प्रहरीको दोहोरो मापदण्डमाथि प्रश्न
काठमाडौं । हालै जेलमुक्त भएका कुख्यात डन दीपक मनाङे (राजीव गुरुङ) लाई प्रहरीले केही घण्टा नियन्त्रणमा लिएर पुनः छाडेको घटना सार्वजनिक भएपछि प्रहरीको कार्यशैलीमाथि प्रश्न उठ्न थालेको छ।
प्रहरी स्रोतका अनुसार, मनाङेलाई एक निर्माण व्यवसायीको उजुरीका आधारमा सोमबार नियन्त्रणमा लिइएको थियो। उजुरीमा मनाङे समूहसँग सम्बद्ध व्यक्तिहरूले ठेकदारलाई धम्क्याउँदै स्काभेटरलगायत निर्माण सामग्री कब्जामा लिएर फिर्ता नगरेको आरोप लगाइएको थियो। सोही विषयमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई कार्यालयमै लगेर सोधपुछ गरेको हो।
अनुसन्धानका क्रममा खुल्न आएअनुसार, निर्माण व्यवसायीको उपकरण मनाङे समूहकै एक व्यक्तिले लगेको र उक्त विषयमा मनाङे स्वयं जमानी बसेका थिए। तर, सामान फिर्ता नगरी उल्टै ‘मनाङेको मान्छे’ भन्दै धम्की दिने काम भएपछि पीडित व्यवसायी प्रहरीको शरणमा पुगेका थिए। स्रोतका अनुसार, मनाङेले समेत दबाबमूलक व्यवहार देखाएको आरोप छ।
जेलमुक्त भएको छोटो समयमै पुनः गुन्डागर्दीजन्य गतिविधिमा संलग्न भएको उजुरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिए पनि ‘छलफलमा सहमति’ भएको भन्दै केही घण्टामै छाडिएको थियो। यस घटनाले प्रहरीको निष्पक्षतामाथि गम्भीर प्रश्न खडा गरेको छ।
यतिबेला प्रहरीले उपत्यकामा गुन्डागर्दी नियन्त्रण अभियान तीव्र बनाएको दाबी गर्दै आएको छ। सामान्य उजुरीमा समेत साना गिरोहका सदस्यहरूलाई दुई सातासम्म थुनामा राखी मुद्दा चलाउने गरेको अवस्थामा मनाङेजस्तो विवादास्पद व्यक्तिलाई छिट्टै छाडिएको विषयले दोहोरो मापदण्डको आशंका बढाएको छ।
हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्का रहेका छन्। उनीमाथि आर्थिक लेनदेनसँग सम्बन्धित घटनामा विशेष चासो राख्ने र पक्राउ परेका व्यक्तिहरूलाई छिट्टै छाड्ने प्रवृत्ति देखिएको भन्दै प्रहरी प्रधान कार्यालयमा समेत उजुरी पुगेको बताइएको छ।
यस घटनाले कानून कार्यान्वयन निकायको विश्वसनीयता, प्रभावकारीता र निष्पक्षतामाथि गम्भीर बहस सिर्जना गरेको छ।
समाज
थप सामाग्री
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
१० घण्टा अगाडि
1.7kViews 494 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी वृत्त नयाँ…



