गृहमन्त्री नहुँदा रोकियो प्रहरी सरुवा, काठमाडौं कमाण्डका लागि एसएसपीहरूबीच तीव्र दौड ,प्रधानमन्त्रीको रोजाइमा एसएसपी सुरेश

काठमाडौँ । वैशाख ९ गते तत्कालीन गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले गृह मन्त्रालयको जिम्मेवारी आफैं सम्हाल्दै आएका छन् । गृहमन्त्री पद रिक्त रहँदा नेपाल प्रहरीभित्र ठूलो संख्यामा सरुवा प्रक्रिया प्रभावित भएको छ ।

गत वर्ष सरुवा भएर विभिन्न जिल्लामा खटिएका तथा कार्यअवधि पूरा गरेका प्रहरी निरीक्षकदेखि वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका अधिकृतहरूको सरुवा रोकिएको हो । प्रहरी नियमावली २०७१ अनुसार प्रहरी अधिकृतहरूको सरुवा सामान्यतया एक वर्षभित्र गरिसक्नुपर्ने व्यवस्था छ ।

प्रहरी प्रधान कार्यालयले २०८२ वैशाख १० गते ३११ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको थियो । तीमध्ये कार्यअवधि पूरा गरेका २४ जनालाई चैत २ गते काज सरुवा गरिए पनि बाँकीको नियमित सरुवा अझै हुन सकेको छैन ।

त्यस्तै, गत वर्ष वैशाख १० मै १२१ जना डीएसपीको सरुवा गरिएको थियो । उनीहरूको कार्यअवधि सकिए पनि नयाँ जिम्मेवारी तोकिएको छैन । अघिल्लो वैशाखमा खटाइएका धेरै इन्स्पेक्टर र डीएसपी अहिले पनि विभिन्न जिल्लामा इन्चार्जकै भूमिकामा कार्यरत छन् ।

एक वर्षे कार्यकाल पूरा गरेका एसपीहरूको सरुवा पनि रोकिएको छ । बाग्लुङ, सिन्धुली, काभ्रे, सर्लाही, महोत्तरी, सुर्खेत, चितवन, पश्चिम नवलपरासी, कपिलवस्तु, कञ्चनपुर तथा सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालयमा कार्यरत एसपीहरूको अवधि पूरा भइसकेको छ ।

यसबीच पाल्पामा कार्यरत एसपी पवन भट्टराईलाई जेनजी आन्दोलनपछि काठमाडौं फिर्ता बोलाइएको थियो ।

एसएसपी र डीआईजी हेरफेरको तयारी

प्रहरी प्रधान कार्यालयले एसएसपी तथा केही प्रदेश डीआईजीहरूको समेत हेरफेर गर्ने तयारी अघि बढाएको छ । प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेले सरुवा प्रक्रिया जारी रहेको बताएका छन् ।

उनले जनरक्षासँग भने, “अवधि पुगेका अधिकृतहरूको सरुवा प्रक्रियामै छ । सिलसिलेवार रूपमा रिपोर्टिङ गर्नुपर्ने विषयहरू छन् ।”

प्रहरी स्रोतका अनुसार यसअघि तयार गरिएको सरुवा मापदण्डलाई नै आधार बनाएर प्रक्रिया अघि बढाइएको छ । नेतृत्व परिवर्तनसँगै मापदण्ड फेरिन सक्ने चर्चा भए पनि हाल तत्काल परिवर्तन नहुने संकेत प्रहरी नेतृत्वले दिएको छ ।

प्रहरी नियमावलीअनुसार एसपीसम्मको सरुवा निर्णय प्रहरी महानिरीक्षक (आईजीपी) ले गर्न सक्ने व्यवस्था छ भने एसएसपी र डीआईजीको सरुवा गृहमन्त्रीस्तरबाट अनुमोदन हुने प्रावधान छ ।

हाल गृह मन्त्रालयमा जेम्स कार्की स्वकीय सचिवका रूपमा कार्यरत छन् । प्रहरीका एक उच्च अधिकृतका अनुसार सरुवा सूची प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सुवास शर्मासमक्ष पठाइसकिएको छ । तर प्रधानमन्त्री सचिवालयबाट अन्तिम सहमति नआएका कारण प्रक्रिया अघि बढ्न सकेको छैन ।

एक उच्च प्रहरी अधिकृतले भने, “प्रधानमन्त्री सचिवालयबाट सहमति आएपछि सरुवा प्रक्रिया टुंगिन्छ ।”

काठमाडौं कमाण्डका लागि तीव्र प्रतिस्पर्धा

जिल्ला प्रहरी परिसर काठमाडौंको नेतृत्व परिवर्तन गर्ने तयारी पनि प्रहरी प्रधान कार्यालयले थालेको छ । हाल परिसरको नेतृत्व एसएसपी रमेश थापाले गरिरहेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयको नेतृत्व परिवर्तन गर्ने गृहकार्यसमेत अघि बढाइएको स्रोतले जनाएको छ ।

काठमाडौं परिसरको कमाण्ड सम्हाल्न एसएसपीहरूबीच तीव्र प्रतिस्पर्धा सुरु भएको छ । एसएसपी दयानिधि ज्ञवाली, सुरेश काफ्ले, बीरबहादुर बुढा, सुवास बोहरा र अजय केसीले काठमाडौं जान इच्छा देखाएका छन् ।

ज्ञवाली र बोहरा हाल प्रहरी प्रधान कार्यालयको कार्य विभागमा कार्यरत छन् । प्रतिनिधिसभा निर्वाचनपछिको रणनीतिक विश्लेषणका लागि गठित महाशाखाको नेतृत्व ज्ञवालीले गरेका थिए ।

जेनजी प्रदर्शनका क्रममा प्रहरी मुख्यालयको सुरक्षा व्यवस्थापनमा बोहरा र ज्ञवालीले सक्रिय भूमिका खेलेका थिए । विशेष ब्यूरोमा कार्यरत एसएसपी सुरेश काफ्लेले जेनजी आन्दोलन हिंसात्मक बनेपछि सर्वोच्च अदालतका न्यायाधीशहरूलाई सुरक्षित स्थानमा सार्न नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । त्यसबेला उनी सर्वोच्च अदालत सुरक्षा युनिटमा कार्यरत थिए ।

बीरबहादुर बुढा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् भने अजय केसी साइबर ब्यूरोमा कार्यरत छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयमा कार्यरत प्रविण धितालले पनि काठमाडौं परिसरको नेतृत्व लिन इच्छा देखाएको प्रहरी स्रोतको दाबी छ ।

यसबीच प्रहरी मुख्यालय स्रोतका अनुसार संगठनभित्र सक्षम र काविल अधिकृतका रूपमा चिनिएका एसएसपी सुरेश काफ्लेलाई काठमाडौं प्रमुख बनाउन प्रधानमन्त्री बालेन शाह स्वयं सकारात्मक देखिएको बताइएको छ ।

समाचार तयार पार्दासम्म सरुवा सूचीलाई लिएर प्रहरी मुख्यालय, गृह मन्त्रालय र प्रधानमन्त्री सचिवालयबीच तीव्र रस्साकस्सी जारी रहेको स्रोतहरूको भनाइ छ ।यद्यपि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र गृह मन्त्रालयका सचिव स्वयंले संघीय राजधानी काठमाडौंमा आगामी शान्ति सुरक्षाको लागि नेपाल प्रहरीका काविल अफिसरलाई नै जम्मेवारी दिने निधो गरे सँगै एसएसपी सुरेश काफ्ले ” किलो” वान हुने लगभग  पक्कापक्की भएको सोर्त बताउँछ।

Facebook Comments Box
TOP
134 Shares