नेपालबाट हज यात्रामा जाने १ हजार २११ हाजीलाई भव्य बिदाइ, पवित्र यात्राको सफलताको कामना

काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको महान धार्मिक यात्राका रूपमा चिनिने पवित्र हजका लागि यस वर्ष नेपालबाट १ हजार २११ जना मुस्लिम श्रद्धालु साउदी अरेबियाको मक्का–मदिनातर्फ प्रस्थान गरेका छन्। हज इस्लाम धर्मका पाँच प्रमुख फर्जमध्ये एक भएकाले आर्थिक तथा शारीरिक रूपमा सक्षम प्रत्येक मुस्लिमले जीवनमा कम्तीमा एकपटक हज गर्नुपर्ने धार्मिक विश्वास रहेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित बिदाइ कार्यक्रममा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह, उपप्रमुख इम्तियाज आलमलगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। उक्त अवसरमा पहिलो उडानमार्फत प्रस्थान गरेका ५१ जना हाजीहरूलाई फूलमाला र गम्छा लगाएर सम्मानसहित बिदाइ गरिएको थियो।

बिदाइ कार्यक्रममा सहभागी नेताहरूले हाजीहरूको पवित्र यात्रा सफल, सुरक्षित तथा फलदायी होस् भन्ने शुभकामना व्यक्त गर्दै अल्लाह रब्बुल इज्जतले सबैको हज कबुल गरून् भन्ने प्रार्थना गरेका थिए। साउदी अरेबियास्थित नेपाली महावाणिज्य दूतावास परिवारले पनि नेपाली हजयात्रीहरूलाई स्वागत गर्ने जनाएको छ।

उपप्रमुख इम्तियाज आलमले हज यात्रुहरूलाई सम्बोधन गर्दै मक्का–मदिनामा पुगेर देश, समाज तथा सम्पूर्ण मानवताको शान्ति र समृद्धिका लागि विशेष दुआ गर्न आग्रह गरे। उहाँले हज केवल धार्मिक यात्रा मात्र नभई आस्था, त्याग, अनुशासन र मानवताको प्रेरणादायी सन्देश बोकेको महान आध्यात्मिक यात्रा भएको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, “हज यात्रामा जाने सम्पूर्ण हाजीहरूको तीर्थयात्रा सफल रहोस्, उहाँहरूको धार्मिक आस्था अझ बलियो बनोस् र मानवताप्रतिको सन्देश लिएर स्वदेश फर्किन सकून् भन्ने शुभकामना व्यक्त गर्दछु।”

हज इस्लामिक पात्रोअनुसार हरेक वर्ष ‘जुल–हिज्जा’ महिनाको ८ देखि १२ वा १३ गतेसम्म सम्पन्न हुने गर्दछ। यस अवधिमा विश्वभरबाट करोडौं मुस्लिम श्रद्धालुहरू साउदी अरेबियाको मक्का र मदिनामा पुगेर विशेष नमाज, तवाफ तथा अन्य धार्मिक अनुष्ठानमा सहभागी हुने गर्दछन्।

नेपालका विभिन्न जिल्लाबाट जिल्ला प्रशासन कार्यालयमार्फत आवेदन दिएका मुस्लिम धर्मावलम्बीहरूको यात्राको व्यवस्थापन केन्द्रीय हज समितिले कोटाअनुसार गर्ने गरेको छ। मुस्लिम समुदायमा मक्का पुगेर हज सम्पन्न गर्नु जीवनकै सबैभन्दा ठूलो धार्मिक उपलब्धिका रूपमा लिइन्छ।

यस वर्ष पनि नेपाली मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरू ठूलो श्रद्धा, विश्वास र उत्साहका साथ हज यात्रामा सहभागी भएका छन्। सम्पूर्ण हाजीहरूको यात्रा मंगलमय रहोस् भन्ने कामनासहित “हज मुबारक” व्यक्त गरिएको छ।

Facebook Comments Box
नेपालबाट हज यात्रामा जाने १ हजार २११ हाजीलाई भव्य बिदाइ, पवित्र यात्राको सफलताको कामना
११ घण्टा अगाडि

1.7kViews 218 Shares Share on Facebook Share on Twitter काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको महान धार्मिक यात्राका रूपमा चिनिने पवित्र हजका…

TOP
218 Shares