भेनेजुएला भूकम्पमा मृत्यु हुनेको संख्या १६४ पुग्यो, झण्डै १ हजार घाइते

काराकास । भेनेजुएलामा आएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या कम्तीमा १६४ पुगेको छ । कार्यवाहक राष्ट्रपति डोल्सी रोड्रिगेजले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै भूकम्पबाट भएको क्षतिको पछिल्लो विवरण सार्वजनिक गरेकी हुन् ।

राष्ट्रपति रोड्रिगेजका अनुसार भूकम्पमा परी ९७१ जना घाइते भएका छन् भने खोज तथा उद्धार कार्य अझै जारी रहेकाले मृतकको संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ ।

भूकम्पका कारण राजधानी काराकाससहित विभिन्न क्षेत्रमा धेरै भवनहरू भत्किएका छन् । सयौँ संरचनामा गम्भीर क्षति पुगेको अधिकारीहरूले बताएका छन् । भग्नावशेषमा मानिसहरू फसेको हुनसक्ने आशंकामा सुरक्षाकर्मी तथा उद्धार टोलीहरू निरन्तर परिचालन गरिएको छ ।

भेनेजुएला सरकारले उद्धार, राहत र पुनर्निर्माणका लागि संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लगायत निकायसँग समन्वय गरिरहेको जनाएको छ ।

Facebook Comments Box
TOP
373 Shares