संकटबीच संगठन जोगाउने कमाण्डर : किन दानबहादुर कार्कीलाई इतिहासकै सफल आइजीपी मानिँदैछ ?

काठमाडौं ।
राजनीतिक हस्तक्षेप, शक्ति केन्द्रको प्रतिस्पर्धा र सुरक्षा संयन्त्रभित्र बढ्दो दबाबका बीच पनि नेपाल प्रहरी संगठनलाई स्थायित्वका साथ अघि बढाइरहेका आइजीपी दानबहादुर कार्की अहिले प्रहरी इतिहासकै सफल र संयमित नेतृत्वका रूपमा स्थापित हुँदै गएको चर्चा सुरक्षा वृत्तमा बढ्न थालेको छ।

प्रहरी संगठन भित्रकै केही भाइरस तत्वहरुले संगठनभित्र समानान्तर शक्ति केन्द्र निर्माण गर्ने प्रयास, राजनीतिक पहुँचमार्फत कमाण्ड प्रभावित पार्ने चलखेल र व्यक्तिगत महत्वाकांक्षाले प्रहरी संगठनलाई अस्थिर बनाउन खोजिए पनि कार्कीले संस्थागत कमाण्डलाई कमजोर हुन दिएका छैनन्। यही कारण अहिले प्रहरी मुख्यालयभित्र धेरै अधिकारी खुला रूपमा भन्न थालेका छन्—“दबाब धेरै आए, तर कार्की झुकेनन्।”

२०८२ कात्तिक २४ गते नेपाल प्रहरीको नेतृत्व सम्हालेका कार्कीले छोटो अवधिमै संगठनभित्र अनुशासन, कमाण्ड नियन्त्रण र कार्यसम्पादनमा स्पष्ट सुधार ल्याएको प्रहरी अधिकारीहरू बताउँछन्। विशेषगरी प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउनु उनको सबैभन्दा ठूलो उपलब्धिका रूपमा हेरिएको छ।

निर्वाचनका बेला देशभर सुरक्षा चुनौती उच्च थियो। राजनीतिक ध्रुवीकरण, सडक आन्दोलन र विभिन्न समूहको दबाबबीच पनि प्रहरी संगठनलाई सन्तुलित रूपमा परिचालन गर्दै कार्कीले राज्यलाई स्थायित्व दिन महत्वपूर्ण भूमिका खेलेका थिए।

प्रहरीका पूर्वअधिकारीहरूका अनुसार कार्कीको सबैभन्दा ठूलो शक्ति भनेकै उनको संस्थागत सोच हो। उनी व्यक्तिगत प्रचारभन्दा संगठनलाई अघि राख्ने अधिकारीका रूपमा चिनिन्छन्। प्रहरीभित्र ‘मिडिया म्यानेजमेन्ट’ र शक्ति केन्द्र धाउने प्रवृत्ति बढिरहेका बेला कार्की भने फाइल, कमाण्ड र परिणाममै केन्द्रित रहेको टिप्पणी हुने गरेको छ।

पछिल्लो समय प्रधानमन्त्री कार्यालय र सिआइबीबीच बढ्दो प्रत्यक्ष समन्वयका कारण प्रहरी संगठनभित्र शक्ति संघर्षको चर्चा चुलिएको छ। विशेषगरी एआईजी डा. मनोज केसीको सक्रियतालाई लिएर संगठनभित्र विभिन्न टिप्पणी भइरहेका छन्। प्रहरी स्रोतहरूका अनुसार आइजीपी नियुक्तिको दौडदेखि नै केसीले राजनीतिक र मिडिया सर्कल प्रयोग गरेर आफूलाई अगाडि बढाउने प्रयास गरेका थिए।

तर अन्ततः संगठनभित्रको अनुभव, कार्यक्षमता र वरियताका आधारमा दानबहादुर कार्की नै आइजीपी बने। अहिले पनि कार्कीलाई कमजोर देखाउने प्रयास भइरहेका भए पनि संगठनभित्रको ठूलो पंक्ति उनको पक्षमा देखिएको प्रहरी स्रोत बताउँछ।

स्रोतका अनुसार केही समूहले व्यवसायी पक्राउ प्रकरण, जेनजी आन्दोलन र अन्य संवेदनशील विषयलाई प्रयोग गरेर कार्कीमाथि नैतिक दबाब सिर्जना गर्न खोजिरहेका छन्। तर प्रहरी अधिकारीहरू भन्छन्—त्यसबेला भएका निर्णय संस्थागत थिए, व्यक्तिगत होइनन्।

बरु, कठिन परिस्थितिमा पनि संगठनलाई राजनीतिक ध्रुवीकरणबाट जोगाएर अघि बढाउनु कार्कीको परिपक्व नेतृत्व भएको उनीहरूको तर्क छ।

यता एआईजी मनोज केसीमाथि भने शक्ति केन्द्र निर्माण गर्न खोजेको आरोप बढ्दै गएको छ। प्रहरी स्रोतहरूका अनुसार केही संवेदनशील अपरेशन र पक्राउ प्रक्रियामा नियमित कमाण्ड संरचनाभन्दा बाहिरबाट प्रभाव खोजिएको भन्दै संगठनभित्र असन्तुष्टि बढेको छ।

प्रहरीभित्रै कतिपय अधिकारीहरू केसीको शैलीलाई “अत्यधिक महत्वाकांक्षी” भनेर टिप्पणी गर्छन्। उनीहरूका अनुसार संगठनभित्र विश्वास निर्माणभन्दा शक्ति केन्द्र नजिक देखिने प्रतिस्पर्धाले प्रहरीको संस्थागत संरचनामाथि असर पार्न सक्छ।

यद्यपि आइजीपी कार्की भने सार्वजनिक रूपमा कुनै विवादमा उत्रिएका छैनन्। उनले मौन रूपमा संगठन सञ्चालन गरिरहेका छन्। यही संयमता नै उनको सबैभन्दा ठूलो शक्ति भएको प्रहरी अधिकारीहरू बताउँछन्।

अहिले प्रहरी मुख्यालयभित्र एउटा कुरा बारम्बार सुनिन थालेको छ—“राजनीतिक आँधी आए पनि संगठन सम्हाल्ने क्षमता कार्कीसँग छ।”

त्यसैले धेरै सुरक्षा विश्लेषकहरूको निष्कर्ष छ—यदि नेपाल प्रहरीलाई संस्थागत रूपमा बलियो, अनुशासित र राजनीतिक प्रभावबाट टाढा राख्ने हो भने दानबहादुर कार्की जस्तो संयमित नेतृत्वको निरन्तरता आवश्यक छ।

Facebook Comments Box
संकटबीच संगठन जोगाउने कमाण्डर : किन दानबहादुर कार्कीलाई इतिहासकै सफल आइजीपी मानिँदैछ ?
४ घण्टा अगाडि

1.8kViews 196 Shares Share on Facebook Share on Twitter काठमाडौं । राजनीतिक हस्तक्षेप, शक्ति केन्द्रको प्रतिस्पर्धा र सुरक्षा संयन्त्रभित्र बढ्दो…

TOP
196 Shares