

कपडा पसलको आवरणमा अवैध वित्तीय कारोबार: वीरेन्द्रनगरबाट करिब ३ करोडको सुनसहित व्यापारी पक्राउ
सुर्खेत — कपडा व्यापारको आवरणमा अवैध वित्तीय कारोबार गर्दै आएको आरोपमा वीरेन्द्रनगरका व्यापारी श्यामसुन्दर अग्रवाल (बालाजी)बाट करिब ३ करोड रुपैयाँ बराबरका सुनचाँदीका गरगहना बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सोमबार अग्रवालको गोप्य कार्यालयमा गरिएको छापामारीका क्रममा १८५ थान सुन तथा चाँदीका गरगहना फेला परेका हुन्। ती गरगहना विभिन्न बट्टा र पोकामा लुकाएर राखिएको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएका गरगहनाको अनुमानित बजार मूल्य करिब ३ करोड रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक कवीन्द्रसिंह बोहोराले जानकारी दिए। उनका अनुसार घटनास्थलबाट २ लाख १९ हजार ५०० नेपाली रुपैयाँ र ८ लाख ११ हजार ८०० भारतीय रुपैयाँ नगदसमेत बरामद गरिएको छ। साथै, नगद गणना गर्ने मेसिन पनि फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सोमबार अपराह्न करिब ४ बजे वीरेन्द्रनगर नगरपालिका–६, तल्लो बजारस्थित शिव इम्पोरियम नामक कपडा पसलमा विशेष सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले छापा मारेको हो। उक्त स्थानमा भारतीय रुपैयाँ र सुनका गरगहना धितो राखी अवैध रूपमा उच्च ब्याजमा रकम उपलब्ध गराउने गतिविधि भइरहेको सूचनापछि कारबाही गरिएको प्रहरीले जनाएको छ।
यसअघि सो व्यवसाय बालाजी बस्त्रालय नामबाट सञ्चालन हुँदै आएको र हाल नाम परिवर्तन गरी शिव इम्पोरियम राखिएको पाइएको छ। प्रहरीले बरामद सामग्री गोप्य गोदामघरबाट समेत फेला पारेको जनाएको छ।
प्रहरीले नियन्त्रणमा लिएका अग्रवालमाथि थप अनुसन्धान भइरहेको जनाएको छ। उनी बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१० घर भई हाल वीरेन्द्रनगर–६ मा बसोबास गर्दै आएको प्रहरीको भनाइ छ। उनी भारतीय मूलका कपडा व्यापारी भएको र उनका बुबाले नेपालमै कपडा व्यवसाय सुरु गरेको बताइएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार अग्रवालले कपडा व्यवसायको आवरणमा सुन धितो राखी रकम उपलब्ध गराउने तथा भारतीय रुपैयाँ सटहीमार्फत वित्तीय कारोबार गर्दै आएको आशंका गरिएको छ। स्रोतका अनुसार उनले चाडपर्वका समयमा भारतबाट आउने नेपालीहरूमाझ भारु सटही गर्दै ३ देखि ५ प्रतिशतसम्म कमिसन लिने गरेको प्रारम्भिक विवरण छ।
त्यसैगरी, सुन धितो राखेर मासिक ३ देखि ५ प्रतिशतसम्म ब्याजमा ऋण प्रवाह गर्ने गरेको पनि आरोप छ। बैंकिङ प्रक्रियामा झन्झट हुने र तत्काल नगद आवश्यक पर्ने व्यक्तिहरूलाई लक्षित गर्दै उनले अवैध रूपमा वित्तीय कारोबार विस्तार गरेको बताइएको छ।
प्रहरी स्रोतका अनुसार यस घटनाको निष्पक्ष अनुसन्धान भएमा वीरेन्द्रनगरका अन्य ठूला व्यवसायीसमेत यस नेटवर्कमा संलग्न हुन सक्ने आशंका गरिएको छ। साथै, कालो धनको परिचालन र ब्याज कारोबारसमेत यही माध्यमबाट भइरहेको हुनसक्ने विषयमा पनि अनुसन्धान केन्द्रित गरिएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



