वर्षमान पुनको आरोप: अर्थमन्त्री वाग्लेले सांसदलाई धम्कीपूर्ण शैलीमा अभिव्यक्ति दिए

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदहरूलाई हेप्ने र धम्की दिने शैलीमा अभिव्यक्ति दिएको आरोप लगाएका छन्।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा कर दर हेरफेर तथा करसम्बन्धी सूचना चुहावटबारे छलफलका क्रममा पुनले उक्त आरोप लगाएका हुन्।

उनका अनुसार अर्थमन्त्रीले विगतका सरकारका निर्णयका फाइल खोजी भइरहेको र पहिलेका हेरफेरहरू अझ बढी भएको संकेत गर्दै हालको विवादलाई सामान्यीकरण गर्ने प्रयास गरेका थिए, जसलाई उनले आपत्तिजनक भनेका छन्।

पुनले बैठकमा भने, “अर्थमन्त्रीज्यूले माननीयहरूलाई हेप्ने र धम्की दिने जस्तो शैलीमा प्रस्तुत हुनुभयो। उहाँले ७० प्रकारका हेरफेर हिजोका सरकारले गरे, मैले ६/७ वटा मात्रै गरेँ भन्ने आशय व्यक्त गर्नुभयो, जुन दुःखद हो।”

उनले यस्तो अभिव्यक्तिले संसद र संसदीय समितिको गरिमा कमजोर हुने भन्दै समितिका सभापतिबाट रुलिङ हुनुपर्ने मागसमेत गरेका छन्।

समितिका सभापति भरतबहादुर खड्काले उक्त विषयमा आफ्नो ध्यानाकर्षण भएको प्रतिक्रिया दिएका छन्।

कर दर हेरफेर र सूचना चुहावटसम्बन्धी विषय पछिल्ला दिनहरूमा संसदमा चर्को बहसको केन्द्र बनेको छ।

Facebook Comments Box
गंगा दाहालको आरोप : परिवारविरुद्ध सामाजिक सञ्जालमार्फत योजनाबद्ध ‘मिडिया ट्रायल’ चलाइयो
९ घण्टा अगाडि

1.4kViews 197 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की…

TOP
147 Shares