थाइल्याण्डकी राजकुमारी बज्रकितियाभाको ४७ वर्षको उमेरमा निधन, शाही उत्तराधिकारमा अन्योल थपिने संकेत

बैंकक — थाइल्याण्डकी राजकुमारी बज्रकितियाभाको ४७ वर्षको उमेरमा निधन भएको छ। तीन वर्षभन्दा बढी समयदेखि कोमामा रहँदै आएकी राजकुमारीको बिहीबार राति निधन भएको थाई शाही दरबारले शुक्रबार आधिकारिक रूपमा पुष्टि गरेको हो।

सन् २०२२ डिसेम्बरमा व्यायाम गर्ने क्रममा अचानक ढलेपछि उनी गम्भीर स्वास्थ्य समस्यामा परेकी थिइन्। त्यसपछि चिकित्सकहरूले उनको मुटुमा ‘माइकोप्लाज्मा’ संक्रमण भएको र त्यसका कारण मुटुको धड्कन अनियन्त्रित बनेको बताएका थिए। लामो समयसम्म सघन उपचारमा राखिए पनि उनको स्वास्थ्यमा सुधार आउन सकेन र उनी कोमामा नै रहिन्।

राजकुमारी बज्रकितियाभा राजा वजिरालोङकोर्नकी सात सन्तानमध्ये जेठी सन्तान हुन्। उनले अमेरिकाको कर्नेल विश्वविद्यालयबाट कानुनमा उच्च शिक्षा हासिल गरेकी थिइन्।

राजनीतिक तथा कूटनीतिक भूमिकामा समेत सक्रिय उनले अस्ट्रियाका लागि थाइल्याण्डको राजदूत र संयुक्त राष्ट्रसंघको लागुऔषध तथा अपराध नियन्त्रण कार्यालयमा क्षेत्रीय प्रतिनिधिका रूपमा काम गरेकी थिइन्। उनी विशेषगरी कारागार सुधार तथा महिला कैदीहरूको अधिकार संरक्षणका विषयमा अग्रणी अभियन्ताका रूपमा चिनिन्थिन्।

थाई शाही उत्तराधिकारमा समेत उनलाई सम्भावित प्रभावशाली पात्रका रूपमा हेरिँदै आएको थियो। तर, ७३ वर्षीय राजा वजिरालोङकोर्नले हालसम्म औपचारिक रूपमा उत्तराधिकारी घोषणा नगरेको अवस्थामा राजकुमारीको निधनले शाही उत्तराधिकारको विषयलाई थप अनिश्चित बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

Facebook Comments Box
गंगा दाहालको आरोप : परिवारविरुद्ध सामाजिक सञ्जालमार्फत योजनाबद्ध ‘मिडिया ट्रायल’ चलाइयो
१० घण्टा अगाडि

1.4kViews 197 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की…

TOP
436 Shares