१६ वर्ष पुरानो हत्या प्रकरणको पर्दाफास : इन्स्पेक्टर नवीन कुमार शाहीको नेतृत्वमा ६ जना पुर्पक्षमा, १ धरौटीमा, २ अझै फरार

मुगु । वर्षौंदेखि रहस्यमय बनेको एक जघन्य हत्या प्रकरण अन्ततः प्रहरीले सफलतापूर्वक उजागर गरेको छ। १६ वर्षसम्म ‘कोल्ड केस’ का रूपमा रहेको उक्त घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक (इन्स्पेक्टर) नवीन कुमार शाहीको नेतृत्वमा अघि बढाइएको थियो।

प्रहरीका अनुसार प्रारम्भमा लगभग शून्य अवस्थाबाट सुरु गरिएको अनुसन्धानलाई शाहीको टोलीले क्रमशः व्यवस्थित बनाउँदै प्रमाण संकलन, पुराना मिसिलहरूको पुनः अध्ययन, शंकास्पद व्यक्तिहरूमाथि निगरानी र गोप्य सूचनाको संकलनमार्फत घटनाको तहसम्म पुग्न सफल भएको हो।

अनुसन्धानका क्रममा कालीबहादुर खड्का, जसु बोहोरा, चन्द्रप्रकाश शाही तथा सरिता बुढाले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ। अन्य प्रतिवादीहरूले इन्कारी बयान दिए पनि पोलिग्राफ परीक्षणमा उनीहरूको बयान असत्य भएको संकेत देखिएको अनुसन्धान स्रोतको दाबी छ।

प्रहरीले संकलन गरेका प्रमाण, बयान र वैज्ञानिक परीक्षणका आधारमा अभियोगपत्र दर्ता भएपछि जिल्ला अदालत मुगुले थुनछेक आदेश जारी गरेको हो। अदालतको आदेशअनुसार सरिता बुढालाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गरिएको छ भने पारसमणी मल्ल, कालीबहादुर खड्का, चन्द्रप्रकाश शाही, जसु बोहोरा तथा दुई नाबालकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

घटनाका मुख्य अभियुक्त शैलेन्द्र हितान र रणबहादुर ऐडी भने अझै फरार रहेका छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

लामो समयसम्म रहस्यमा रहेको यो मुद्दालाई निष्कर्षमा पुर्‍याउन इन्स्पेक्टर नवीन कुमार शाहीको नेतृत्व निर्णायक बनेको प्रहरी स्रोत बताउँछ। पुराना प्रमाणहरूको पुनः विश्लेषण, विभिन्न तहका अनुसन्धान विधिहरूको प्रयोग र निरन्तर फिल्ड इन्भेस्टिगेशनमार्फत उनले घटनाको वास्तविकता उजागर गर्न महत्वपूर्ण भूमिका खेलेका हुन्।

प्रहरी वृत्तमा यो अनुसन्धानलाई पछिल्ला वर्षहरूमा मुगु प्रहरीको एक उल्लेखनीय उपलब्धिका रूपमा लिइएको छ। लामो समय न्यायको प्रतीक्षामा रहेको घटनालाई कानुनी दायरामा ल्याउन सफल भएकाले अनुसन्धान टोलीको प्रयासको प्रशंसा भइरहेको छ।

Facebook Comments Box
गंगा दाहालको आरोप : परिवारविरुद्ध सामाजिक सञ्जालमार्फत योजनाबद्ध ‘मिडिया ट्रायल’ चलाइयो
८ घण्टा अगाडि

1.3kViews 197 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की…

TOP
478 Shares