काठमाडौं उपत्यकामा स्पा–मसाज सेन्टरको नाममा नाबालिकामाथि यौन शोषणको डरलाग्दो जालो : मानव बेचबिखनको संगठित स्वरूप उजागर

काठमाडौ ।

काठमाडौं उपत्यकामा स्पा, मसाज सेन्टर र खाजाघरको आवरणभित्र नाबालिकामाथि यौन शोषण र मानव बेचबिखनका गम्भीर घटनाहरू निरन्तर सार्वजनिक भइरहेका छन्। रोजगारीको प्रलोभन, आर्थिक कमजोरी र सामाजिक सञ्जालमार्फत फैलाइने झुटा आश्वासनको फाइदा उठाउँदै किशोरीहरूलाई जबरजस्ती यौनजन्य गतिविधिमा धकेल्ने संगठित संरचना विस्तार भइरहेको प्रहरी अनुसन्धानले देखाएको छ।

ललितपुरको सानेपास्थित ‘शुकल्प स्पा एन्ड थेरापी’ की सञ्चालिका सुमन कुमाल नाबालिकालाई प्रलोभनमा पारी ग्राहकको इच्छाअनुसार जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा पक्राउ परेकी छन्। प्रहरीका अनुसार स्पा भित्र कार्यरत एक बालिकालाई आर्थिक लाभको प्रलोभन देखाउँदै यौन शोषणमा प्रयोग गरिएको आशंका छ। उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा अनुसन्धान जारी छ।

यस्तै, काठमाडौं गोकर्णेश्वर–५ शिवचोकमा सञ्चालन गरिएको खाजाघरको जस्ताको टहराभित्र नाबालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा मसली तामाङ कारागार चलान भएकी छन्। पीडितलाई ललाइफकाइ, डर–त्रास र आर्थिक प्रलोभन देखाएर यौन शोषण गरिएको अनुसन्धानमा खुलेको छ।

काठमाडौं–१७ ठहिटीस्थित ‘न्यु हर्बल स्पा’ का सञ्चालक शेरबहादुर भारतीमाथि पनि १५ वर्षीया नाबालिकालाई मसाजको काम देखाएर जबरजस्ती यौनजन्य कार्यमा लगाएको गम्भीर आरोप छ। प्रहरीले गरेको अनुसन्धानअनुसार दैनिक ४/५ जना ग्राहकसँग यौन कार्यमा बाध्य पारिएको तथ्य सार्वजनिक भएको छ।

यसैगरी, गौशाला क्षेत्रमा सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी होटलमा यौनजन्य गतिविधि सञ्चालन गरेको आरोपमा १६ जनाको समूह पक्राउ परेको छ। रोजगारीको खोजीमा रहेका किशोरीहरूलाई फेसबुक, ह्वाट्सएपमार्फत प्रलोभनमा पारेर होटल तथा खाजाघरमा पुर्‍याई शोषण गरिएको प्रहरीको निष्कर्ष छ।

भक्तपुरको जडीबुटीस्थित खाजाघर सञ्चालन गर्ने देविका श्रेष्ठ पनि नाबालिकालाई काममा लगाइदिने बहानामा यौन शोषण गरेको आरोपमा हाल कारागारमा छन्। पीडितलाई आर्थिक लोभ देखाई ग्राहकसँग जबरजस्ती शारीरिक सम्बन्ध बनाउन लगाइएको घटनाले उपत्यकामा यस्तो अपराधको जालो अझ गहिरो रहेको संकेत गरेको छ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार उपत्यकामा मात्रै पछिल्लो समय दर्जनौँ स्पा, मसाज सेन्टर र खाजाघरबाट नाबालिकाको उद्धार गरिएको छ। साउनदेखि वैशाखसम्म ८९ जना नाबालिकाको उद्धार भएको तथ्यले अवस्था गम्भीर रहेको देखाउँछ। २०७७ यता मात्रै २०० भन्दा बढी नाबालिका र महिलाको उद्धार भइसकेको छ।

प्रहरीका अनुसार सामाजिक सञ्जालबाट फैलिने झुटा रोजगार विज्ञापन, आकर्षक कमाइको लोभ र असहाय अवस्थाको फाइदा उठाउँदै यस्ता गिरोहले किशोरीहरूलाई लक्षित गर्दै आएको छ। कतिपय पीडित उद्धारपछि पनि घर फर्कन अनिच्छुक हुने र मानसिक रूपमा गम्भीर असर देखिने गरेको तथ्यसमेत सार्वजनिक भएको छ।

मानसिक स्वास्थ्य विज्ञहरूका अनुसार यस्ता घटनाबाट प्रभावित बालिकाहरू दीर्घकालीन ट्रमा, डिप्रेसन, एन्जाइटी र यौनिक जीवनमा गम्भीर समस्या भोग्न बाध्य हुन्छन्।

उपत्यकामा स्पा र मसाज सेन्टरको नाममा फैलिँदै गएको यौन शोषण र मानव बेचबिखनको यो श्रृंखलाले राज्य संयन्त्र, नियमन प्रणाली र सामाजिक निगरानीमाथि गम्भीर प्रश्न उठाएको छ।

Facebook Comments Box
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
१ दिन अगाडि

2.1kViews 326 Shares Share on Facebook Share on Twitter काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट…

TOP
415 Shares