

लम्पी स्किन रोगले खोटाङमा सात सय ३६ वटा गाईगोरु मरे
देशभर महामारीको रूपमा फैलिएको लम्पी स्किन रोगले खोटाङमा सात सय ३६ वटा गाईगोरु मरिसकेका छन्।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५५, हलेसी तुवाचुङ नगरपालिकामा २६, खोटेहाङ गाउँपालिकामा ४०, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा दुई सय ७२, केपिलासगढी गाउँपालिकामा ४५, ऐँसेलुखर्क गाउँपालिकामा ५२, बराहपोखरी गाउँपालिकामा ७६, जन्तेढुंगा गाउँपालिकामा २१, रावाबेँसी गाउँपालिकामा ८४ र साकेला गाउँपालिकामा ६५ वटा पशुचौपाया लम्पी स्किन रोगले मरेको पाइएको हो।
कृषकले पालेका पशुचौपायामा गत चैत पहिलो साता लम्पी स्किन रोगको लक्षण भेटिएको जिल्लामा चार सय ३१ वटा गाईगोरुमा रोगको प्रकोप देखिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालय खोटाङले दिएको विवरणमा उल्लेख छ।
१० स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय भैँसीमा समेत लम्पी स्किन रोगको लक्षण देखिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालय खोटाङका सम्पर्क अधिकृत चन्द्रकिशोर यादवले जानकारी दिएका छन्।
पछिल्लो एक हप्ताको अवधिमा १४ वटा भैँसीमा लम्पी स्किन रोगको प्रकोप देखिएको जिल्लामा एउटाको मृत्यु भएको जनाइएको छ। पशु विशेषज्ञहरूका अनुसार गाईगोरुमा एक सय पाँच डिग्रीसम्मको ज्वरो आउनु, शरीरको विभिन्न ठाउँमा फोकाहरू आउनु, मुखबाट र्याल काढ्नु, सिँगान बग्नु, दुई–चार दिनपछि फोका फुटेर रगत आउनु, खुट्टा सुन्निनु, घाँटी सुन्निनु लम्पी स्किन रोगका लक्षणहरू हुन्।
मुख्यगरी खेतबारी जोत्न र प्रांगारिक मल उत्पादनका लागि जिल्लाका किसानले पालेका गाईगोरुमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणमा कसैको ध्यान नपुगेको जिल्लावासीको आरोप छ।
महामारीको रूपमा फैलिएको लम्पी स्किन रोगका कारण जिल्लाका कतिपय कृषकको गोठ नै रित्तिएको पाइएको नेकपा (माओवादी केन्द्र) खोटाङका युवा नेता लक्ष्मण साम्पाङ ‘समिप’ले जानकारी दिएका छन्।
लम्पी स्किन रोगविरुद्धको खोप र औषधि किन्न उद्योग, कृषि तथा सहकारी मन्त्रालयले गत असार २४ गते प्रत्येक स्थानीय तहलाई रु. एक लाखका दरले बजेट उपलब्ध गराएको थियो।
देशभर महामारीको रूपमा फैलिएको लम्पी स्किन रोग नियन्त्रण गर्ने उद्देश्यले अतिप्रभावित क्षेत्रमा तत्काल खोप तथा औषधि उपलब्ध गराउन भन्दै मन्त्रालयले सात सय ५३ वटै स्थानीय तहको खातामा रकम उपलब्ध गराएको हो।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा साकेला र रावाबेँसी गाउँपालिकाले मात्रै मन्त्रालयले उपलब्ध गराएको उक्त रकम निकाल्न सफल भएको पाइएको छ। असार २५ गतेदेखि देशभर एकैसाथ आर्थिक बारोबारसम्बन्धी सर्भर बन्द भएका कारण जिल्लाका अन्य स्थानीय तहले उक्त रकम निकासा गर्न नपाएको जनाइएको छ।
लम्पी स्किन रोगको महामारीले गाईगोरु बिरामी हुँदा र मर्दा खोटाङमा रोपाइँसमेत प्रभावित भएको किसानले बताएका छन्। खेत तथा बारी जोत्ने प्रविधि (हाते ट्याक्टर) कम मात्र भित्रिएको जिल्लाका अधिकांश कृषकले आफैँले पालेका हलगोरु प्रयोग गरेर खेत तथा बारी जोत्दै आएका छन्।
लम्पी स्किन रोग नियन्त्रणका लागि स्थानीय तहले निःशुल्क वितरण गर्न पठाएको औषधिसमेत प्राविधिकहरूले शुल्क लिएर कृषकलाई बेच्ने गरेको समाचार स्रोतले बताएको छ।
लम्पी स्किन रोगपीडित कृषकका लागि निःशुल्क वितरण गर्न पठाइएको औषधि प्राविधिकहरूले शुल्क लिएर बिक्री गर्ने गरेको बारेमा अहिलेसम्म कसैबाट पनि गुनासो नआएको पशु शाखा प्रमुखहरूले बताएका छन्।
नेपाल सरकारले कृषिमा आत्मनिर्भर हुन र स्वरोजगारी सिर्जना गर्ने उद्देश्यले बिमा शुल्कमा ७५ प्रतिशत अनुदान दिने नीति लिएको छ। नेपालमा बिमा समितिबाट ०६९ माघ १ गतेदेखि औपचारिक रूपमा बाली तथा पशुपन्छी बिमा निर्देशिका, २०६९ जारी भई बाली तथा पशुपन्छी बिमाको सुरुवात भए पनि जिल्लामा प्रभावकारी रूपमा कार्यान्वयन भएको छैन।
०७० साउन १ गतेदेखि नेपाल सरकारले बाली तथा पशुपन्छी बिमाको प्रिमियममा ५० प्रतिशत अनुदान उपलब्ध गराउने निर्णय गरेको थियो। नेपाल सरकारले लागू गरेको पशुपन्छी बिमा कार्यक्रम पाउनुभन्दा धाउनु बढी भएकाले जिल्लामा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको कृषकले बताउने गरेका छन्।
समाज
थप सामाग्री-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
९ घण्टा अगाडि
2.7kViews 159 Shares Share on Facebook Share on Twitter काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी…





