

पुरानै स्वरूपमा यज्ञमती र चखुँचाखोला
काठमाडौँ। दुई वटा ह्युमपाइपभित्र सीमित गरिएका यज्ञमती र चखुँचाखोलाको उत्खनन सुरु गरिएको छ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका र काठमाडौँ महानगरपालिकाभित्र बग्ने यज्ञमती र चखुँचाखोलाको उत्खनन शुक्रबारदेखि सुरु गरिएको हो ।
काठमाडौँ महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाबिच तीनबुँदे सहमति भएपछि खोला उत्खनन थालिएको हो । धोबीखोलातर्फबाट चखुँचाखोला खोल्न सुरु गरिएको छ । काठमाडौँ महानगरपालिकाले दुई वटा डोजर प्रयोग गरी खोला उत्खनन सुरु गरेको छ ।
खोलामा बस्ती बसाइएको बारे गोरखापत्रले २०७९ देखि पाँच शृङ्खलामा र फुटकर पनि समाचार प्रकाशन गरेको थियो । ती समाचार प्रभावको तार्किक निष्कर्ष स्वरूप यज्ञमती र चखुँचाखोलाले पुनर्जीवन पाउने भएका छन् । यससँगै कपन क्षेत्रमा हुने डुबान र मानवीय असर कम हुने भएको छ ।
काठमाडौँ महानगरपालिका–७ का वडाध्यक्ष विमलकुमार होडाका अनुसार शुक्रबार साँझसम्ममा झन्डै पाँच सय मिटर खोला खोलिएको छ । उहाँले भन्नुभयो, “काठमाडौँ महानगरतर्फ खुला ठाउँ छ । खोला पुरिएको माटो, बालुवा निकालेर खुला ठाउँमा भर्ने, सम्याउने र खोलालाई साबिककै अवस्थामा फर्काउने गरी काम भइरहेको छ ।” काठमाडौँ महानगरपालिका–६ र बुढानीलकण्ठ नगरपालिका–१०, ११ र १२ को पानीको स्रोत यज्ञमती र चखुँचाखोलालाई ढलमा परिणत गरिएको थियो । जगडोल पार्कको देब्रेतर्फबाट बग्ने यज्ञमती खोला घुमेर कपन आनीगुम्बा हुँदै कपन प्रहरी चौकी, आरम्भचोकमा अर्को खहरेसँग मिल्छ । त्यसपछि चखुँचाखोला सुरु हुन्छ । चखुँचाखोला आरम्भचोक, मिलनचोक हुँदै धोबीखोलामा गएर मिसिन्छ ।
तीनबुँदे सहमति
काठमाडौँ महानगरपालिकाको टोली बिहीबारै खोला खोल्न पुगे पनि बुढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिले असहमतिका कारण रोकिएको थियो । तर शुक्रबार काठमाडौँ महानगरपालिका–६ का अध्यक्ष भुवन लामा, वडा नम्बर–७ का अध्यक्ष विमलकुमार होडा, बुढानीलकण्ठ नगरपालिका–१० का अध्यक्ष नवराज भट्टराई र वडा नं. १२ का अध्यक्ष शम्भुप्रसाद भट्टराईबिच तीनबुँदे सहमति भएपछि यज्ञमती र चखुँचाखोलाको अस्तित्व कायम हुने भएको हो । चार जनाको हस्ताक्षर भएको सहमतिपत्रमा धोबीखोलादेखि साततलेसम्मको बुढानीलकण्ठ–१० र काठमाडौँ–७ को सीमा भागमा नापजाँच भई पर्खाल लगाएकाले उक्त भागको सतहमा खोलामा राखिएको ह्युमपाइप निकाल्ने उल्लेख छ ।
साथै धोबीखोला किनार, पाथीभरा बस्ती, समता टोल जाने बाटो, साततलेको चोक जस्ताको तस्तै राख्ने वा आवश्यकता अनुसार काठमाडौँ महानगरले बेलिब्रिज निर्माण गर्ने सहमति भएको छ ।
त्यसै गरी साततले चोकदेखि उत्तरतर्फ बुढानीकण्ठ–१० र १२ तथा काठमाडौँ महानगरपालिका–६ मा दुवैतर्फका जग्गाधनीको नक्सा पुर्जाअनुसारको जग्गा छुट्याई बाँकी भएको जग्गा खहरे कायम गरी दुवै महानगर र नगरपालिकाको सिमाना र खोलाको भाग रेखाङ्कन गरी छुट्याउने सहमति पनि भएको छ ।
नापजाँचबाट सीमा यकिन गरी खोलाको भाग छुट्याएपछि दीर्घकालीन समस्या समाधान हुने गरी योजना बनाएर खोला र बाटो व्यवस्थापन गर्ने सम्बन्धमा दुवै स्थानीय तहको सम्बन्धित वडाध्यक्षहरूको लिखित सहमतिमा दोस्रो चरणको काम सुरु गर्ने सहमति भएको छ । उहाँहरूबिच दुवैतर्फबाट काममा सहजीकरण गरी विवाद निरूपण गर्ने सहमति भएको छ ।२०५० यता अव्यवस्थित बस्ती विस्तारका कारण खोला पुरिएको थियो । सरस्वतीनगर सुधार सङ्घका अध्यक्ष पेशल पहाडीका अनुसार २०६० पछि खोला अतिक्रमण झनै बढेको थियो । गोरखापत्र दैनिकमा २०७९ साउन १५ देखि १९ गतेसम्म ‘खोलामा पसेको बस्ती’ शृङ्खलामा यज्ञमती र चखुँचाखोला अतिक्रमणको विषयमा समाचार प्रकाशित गरिएको थियो । त्यसपछि सरकारी निकाय र सरोकारवालाहरू खोला खोल्नुपर्ने निष्कर्षमा पुगेका हुन् । पूर्वमन्त्री एवं जलस्रोतविज्ञ दीपक ज्ञवालीले यज्ञमती र चखुँचाखोला खोल्नु सकारात्मक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “बेलैमा काठमाडौँ महानगर र बुढानीलकण्ठ नगरपालिकाले खोला खोल्न अग्रसर हुनु सकारात्मक हो । कुरा प्रस्टै छ, यदि अहिले खोला नखोल्ने हो भने खोलाले बस्ती नै खोलेर आफ्नो बाटो कायम गर्ने सम्भावना प्रबल थियो ।”यो समाचार गोरखापत्र दैनिकबाट साभार गरिएको हो ।
समाज
थप सामाग्री-
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
११ घण्टा अगाडि
2.2kViews 319 Shares Share on Facebook Share on Twitter बुटवल । बुटवलको अस्पताल लाइनमा सञ्चालित सैनामैना फार्मेसीमा प्रहरीले नक्कली तथा…





