

तेह्रौँ शताब्दीको शिव मन्दिर पुनः निर्माण
नवलपुुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–१३ सिख्रौलीघाटमा भग्नावशेष भेटिएको १३औँ शताब्दीको शिव मन्दिरको पुनःनिर्माण गरिएको छ । नारायणी नदी किनारको संरक्षित क्षेत्रमा भग्नावशेष भेटिएको मन्दिरको पुरातत्व विभागले विसं २०७० मा उत्खनन सुरु गरेको थियो ।
दुई वर्ष लगाएर उत्खनन गरिएपश्चात् सिख्रौलीमा सुर्खेतको काँक्रे विहारमा रहेको जस्तै १३औँ शताब्दीको शिखर शैलीको शिव मन्दिर रहेको विभागले निष्कर्ष निकालेको थियो । पुरानै भग्नावशेष भेटिएको स्थानमा नै पुरातत्व विभागले रु सात करोड ६८ लाखको लागतमा गत फागुनमा शिखर शैलीको शिव मन्दिर पुनः निर्माण सम्पन्न गरेको छ ।
मन्दिरको पुनः निर्माण सकिए पनि मन्दिरको प्राण प्रतिष्ठा नगरिएका कारण पूजाआजाका लागि मन्दिर खुला नगरिएको कैलाश सन्न्यास आश्रम, महादेव थान व्यवस्थापन समितिका उपाध्यक्ष प्रेमलाल पौडेलले बताए । “पुरातत्व विभागले मन्दिरको पुनः निर्माण सकिएको भनेर बजेट निकासा गरिसक्यो”, उनले भने, “तर, उत्खनन गर्ने बेलामा मन्दिरको शिवलिङ्ग फुटेको अवस्थामा भेटिएको थियो, मन्दिर पुनः निर्माण गर्दा फुटेकै शिवलिङ्ग राखेका छौँ ।”
पुरानो शिवलिङ्गको ठाउँमा नयाँ शिवलिङ्ग प्रतिस्थापन नगरेसम्म मन्दिरको प्राणप्रतिष्ठा नगर्ने भन्दै उहाँले त्यसपछिमात्र मन्दिरमा पूजाआजा सुरु हुने जानकारी दिए । “नयाँ शिवलिङ्ग राख्ने भनेर विभागले नापजाँचसमेत गरिसकेको छ”, उनले भने, “गएको फागुनमा मन्दिर निर्माण सकिएको अवस्थामा अझैसम्म शिवलिङ्ग राख्ने काम नभएपछि हामी विभागमा ‘डेलिगेसन’ जाने तयारी गरेका छौँ ।”
कैलाश सन्यास आश्रममा भेटिएको १३ औँ शताब्दीको मन्दिर नापजाँच गरेर मन्दिर पुनः निर्माण गर्ने क्रममा केही अपुग भएका ढुङ्गा गैँडाकोट–१४ को रनतपुर तथा पाल्पाबाट ल्याइएको पौडेलले बताए । “विसं२०७० मा उत्खनन सुरु गरिएको ठाउँमा दुई वर्ष लगाएर मन्दिरका भग्नावशेषका रुपमा रहेका करिब एक हजार पाँच सय ढुङ्गाहरु झिकिएका थिए”, उनले भने, “त्यहाँ आठ सय वर्ष पुराना इँटा, पुरानो बुद्धको मूर्ति, हात्तीको सुँढ र गणेशको प्रतिमा भेटिएको थियो ।”
बुद्धको मूर्ति पुरातत्व विभागले लिएर गएको जनाउँदै उपाध्यक्ष पौडेलले इँटा, हात्तीको सुँढ र गणेशको प्रतिमा समितिले सुरक्षित राखेको बताए । “मन्दिर पुनः निर्माणका क्रममा मन्दिरको चारवटै कुनामा थप चारवटा साना मन्दिर पाइएको थियो”, उनले भने, “विभागले मन्दिरको चारैतिर रहेका साना मन्दिर पनि पुनः निर्माण गर्ने बताएको छ ।”
नवलपुरमा पहाडबाट बसाइँ सरेर आउने बेलातिर नै यस ठाउँमा मन्दिरको भग्नावशेषमात्र देखिएको उनले बताए । “हाम्रो बुबा विसं २०२१ मा यहाँ आएर बस्न सुरु गर्नुभएको हो, हामी सानै थियौँ”, उनले भने, “त्यतिबेला यहाँ हामी पशुचौपाया चराउन आउँदा यहाँ मन्दिर थिएन, तर पुराना ढुङ्गाहरु देखिन्थे ।”
धर्तीपुत्रका रुपमा रहेका यहाँका आदिवासी थारू समुदायले समेत मन्दिर नदेखेको बताउँछन् । सिख्रौलीका शिखाराम चौधरीले आफ्ना बुबा, हजुरबुबाले समेत यहाँ मन्दिर नदेखेको बताए । “यो मन्दिर १९९० सालको भूकम्प अगाडि नै भत्किएको हुनुपर्छ”, उनले भने, “यहाँ हाम्रो समुदायले सालको रूखमुनि संसारी पूजा गर्दै आएको थियो, तर मन्दिरका बारेमा कसैलाई जानकारी नै छैन ।”
पूर्वपश्चिम राजमार्ग निर्माण नहुने बेलासम्म नारायणी नदी तर्नका लागि सिख्रौलीघाट प्रयोग हुने गरेको चौधरीले बताए । यो मार्ग सिख्रौलीघाट हुँदै भारतसम्म व्यापार गर्नका लागि प्रयोग हुने गरेको चौधरीको भनाइ छ । “यहाँ हरेक वर्षको हरिबोधनी एकादशीको दिन ठूलो मेला लाग्ने गर्दछ”, उनले भने, “पहिले पहिले मेला भर्नका लागि नेपालका विभिन्न जिल्लाबाट मात्रै नभएर भारतबाट समेत व्यापारी यहाँ आउने गरेका थिए ।”
सिख्रौलीघाटको ऐतिहासिकसँगै व्यापारिक महत्वसमेत रहेको कैलाश सन्न्यास आश्रम महादेव थान व्यवस्थापन समितिका सदस्य तीर्थलाल पौडेलले बताए । ऐतिहासिक सम्पदा भएर पनि उचित प्रचारप्रसारको अभावमा मन्दिर ओझेलमा परेको उनको भनाइ छ । “यहाँ अहिले पनि साउन महिनाभरि, नयाँ वर्ष र महाशिवरात्रिमा भक्तजनको ठूलो उपस्थिति हुने गरेको छ”, उनले भने, “साउनको एउटा सोमबार मात्रै भक्तजनले भेटीस्वरुप चढाएको रकम रु ५० हजार बढी सङ्कलन हुने गरेको छ ।”
पाँच बिघा चार कट्ठा क्षेत्रफलमा फैलिएको आश्रममा विभिन्न मन्दिर तथा धर्मशाला निर्माणको काम पनि भइरहेको उनले बताए । मन्दिर सञ्चालनका लागि रु एक करोडको अक्षयकोष निर्माण गर्नेगरी समिति अगाडि बढेको भन्दै उनले हालसम्म अक्षयकोषमा रु ७५ लाख जम्मा भइसकेको बताए । “आश्रममा एकजना पुजारी, माली तथा गाई हेरालु नियमित बस्दै आउनुभएको छ”, उनले भने, “यहाँ दैनिक १४ जनासम्म साधुसन्त आएर निःशुल्क भोजन ग्रहण गर्नुहुन्छ ।” पछिल्लो समय प्रदेश सरकारको आर्थिक सहयोगमा नारायणी नदी किनारमा व्यवस्थित स्नानघाट निर्माण गरिएको छ । सिख्रौलीघाटको ठीक पारिपट्टि जननेता मदन भण्डारीको शव भेटिएको स्थान गाजिपुर रहेको छ । सिख्रौलीघाट र गाजिपुरलाई जोड्न सकेको खण्डमा यहाँको धार्मिक र ऐतिहासिक महत्व बढ्ने स्थानीयको बुझाइ छ । रासस
समाज
थप सामाग्री-
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
१४ घण्टा अगाडि
2.3kViews 319 Shares Share on Facebook Share on Twitter बुटवल । बुटवलको अस्पताल लाइनमा सञ्चालित सैनामैना फार्मेसीमा प्रहरीले नक्कली तथा…





