

शौचालय बनेपछि फेरियो दिनचर्या
लहान । आशादेवी पासमानलाई अचेल सबेरै घाम झुल्किनुभन्दा अगाडि आँखा मिच्दै साथीहरुलाई जम्मा गरी हुल बाधेर खुट्टी खोलाको किनारमा शौच गर्नुपर्ने विवशता हटेको छ । घर नजिकै सामुदायिक शौचालय बनेसँगै सिरहाको लहान नगरपालिका–५ बलुवा टोलकी आशादेवीजस्तै यहाँका नागरिकको दैनिकीमा परिवर्तन आएको छ । आफ्नै टोलमा बनेको शौचालयमा सुरक्षितरुपमा दिसा पिसाब गर्न पाएपछि आशादेवी बाहिर शौच गर्नुपर्ने चिन्ताबाट मुक्त भएकी हुन् । अलि पर खोला किनारमा बिहान झिसमिसेमै शौच गर्न जाँदा लाग्ने समय अब उनी घरधन्दामा बिताउछिन्। सामुदायिक शौचालय बनेपछि आशादेवीजस्तै मुख्य गरी यहाँका गृहणी महिलाको समयको बचत मात्र भएको छैन, कसैले देख्छ की भनेर किस्तावन्दीमा डराइडराइ दिसा बस्नुपर्र्ने बाध्यता पनि हटेको छ ।
सड्चालीस परिवार बस्दै आएको बलुवा टोलमा अधिकांश व्यक्ति सुकुम्बासी दलित समुदायका छन् । उनीहरुसित न शौचालय बनाउने जग्गा छ, न त लगानी गर्ने पैसा । “घरमा शौचालय नहुँदा धेरै दुःख भोग्नुपर्ने बाध्यता थियो । झिसमिसे अँध्यारोमै खुला दिसा बस्नुपर्दा किरामिरा तथा सर्पको डर थियो”, आशादेवीले भनिन्, “अझ झरी पर्दा र खोलामा आएको बाढीले त झन शौच गर्न कहाँ जाने होला भन्ने चिन्ता हुन्थ्यो । अब नजिकै शौचालय बनेपछि यो समस्याबाट मुक्ति पाइयो ।”
‘वाटर एड नेपाल’को प्राविधिक सहयोग र दलित जनकल्याण युवा क्लब, लहान नगरपालिका, नेपाल खानेपानी संस्थान लहानको संयुक्त साझेदारीमा सञ्चालित ‘विकन परियोजना’अन्तर्गत टोलमा सामुदायिक शौचालय सञ्चालनमा आएपछि बाहिर खोला किनारतिर खुला शौच गर्नुपर्ने बाध्यताको अन्त्य भएको हो ।
चार वर्ष अघि नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरियो । खुला दिसामुक्तको मानक पूरा गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देश भनी घोषणा गरिए पनि त्यसले मधेसका दलित तथा गरिब बस्तीलाई छुनै सकेन । लहान–५ का निवर्तमान वडाध्यक्ष मोहम्मद सुलेमान अन्सारी भन्छन्, “यस समुदायमा सबै सुकुम्बासी छन् । उहाँहरुसँग जग्गा अभावले घरमा शौचालय बनाउने कुरा भएन । नदी किनारमा खुला ठाउँमा शौच गर्न बाध्य थिए । यो ठाउँमा सामुदायिक शौचालय बनाइदिनुप¥यो भनी नगरपालिका र विभिन्न सङ्घसंस्थालाई बारम्बार अनुरोध गरिरह्यौँ र अहिले आएर हाम्रो पहलकदमी सार्थक बनेको छ ।”
यसअघि टोलवासीले शौचालय बनाइदिने आश्वासन मात्र पाएका थिए । “जो आए पनि नाम लेखेर जान्थे”, स्थानीय निरादेवी पासमानले भनिन्, “टोलमा घरभन्दा राम्रो शौचालय बन्छ होला भनेर त शोचेको पनि थिएन । टोलमा कसैले घर दिन्छु, कसैले घरैघर चापाकल दिन्छु भन्थे, तर उहाँहरुले (दलित जनल्याण) त साँच्चिकै नै यति राम्रो चर्पी बनाइदिनुभयो ।” खुसी हुँदै निरादेवी पासमानले भनिन् ।
स्थानीयका अनुसार पहिला पहिला बलुवा टोलमा मुख छोपेर हिँड्नुपर्ने अवस्था थियो । नदीको किनारमा एक लाइनमा महिला तथा अर्र्को लाइनमा पुरुष शौच गर्न बसेका हुन्थे । पहिले जताततै दिसापिसाब मात्र देखिने बलुवा टोलमा शौचालय बनेपछि गाउँ सफा भएको छ । सरसफाइले स्थानीयको स्वास्थ्यमा पनि सुधारसमेत आएको छ । शौचालय अभावमा घरवरपर जथाभावी दिसापिसाबका कारण झाडापखाला, आउँ, टाइफाइडलगायत रोगले सताउने भए पनि अहिले कमी आएको स्थानीय बताउँछन् ।
दलित हक अधिकारको क्षेत्रमा काम गर्ने दलित जनकल्याण युवा क्लबले गरिब, निमुखा र दलितको जीविकापार्जनको लागि विगतदेखिनै उल्लेखनीय कार्य गर्दैआएको बताउछन् क्लवका कार्यकारी निर्देशक विनोदकुमार विसुन्के । दलित बस्तीमा शौचालयको अभाव देखेपछि उक्त समस्यालाई सामधान गर्न उक्त कार्य अगाडि बढाएको उनले जानकारी दिए ।
लहान–५ का वडाध्यक्ष मोहम्मद अब्दुल करिमले शौचालयको अभावमा खुला ठाउँमा शौच गर्न बाध्य र समाजमा पछाडि पारिएको यस क्षेत्रलाई आफ्नो पहिलो प्राथमिकतामा राखेर काम गरिएको बताए । सामुदायिक शौचालय तयार भइसकेपछि लहान नगरप्रमुख महेशप्रसाद चौधरीले भने, “घरभन्दा राम्रो शौचालय बनेको छ, यसको संरक्षण गर्नु हामी सबैको जिम्मेवारी हो ।”शौचालय अपाङ्गतामैत्री छ । चौध शौचालय ४७ परिवारले प्रयोग गर्दछन् । उनीहरुले ‘बलुवा टोल सामुदायिक शौचालय मर्मतसम्भार समिति’ गठन गरेका छन् । शौचालयको स्थायित्वका लागि भन्दै प्रयोगकर्ताले मासिक शुल्क प्रतिघर रु एकसयका दरले सङ्कलन गर्ने गरेको र उक्त रकम शौचालयमा प्रयोग भएको बिजुलीको महसुल तिर्न तथा शौचालय व्यवस्थापनमा खर्च गरिने भएको छ । रासस
समाज
थप सामाग्री-
असार १५ मा ७५ लाख लिटर दही खपत हुने अनुमान, एक अर्बको कारोबार अपेक्षा
-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
१५ घण्टा अगाडि
2.3kViews 319 Shares Share on Facebook Share on Twitter बुटवल । बुटवलको अस्पताल लाइनमा सञ्चालित सैनामैना फार्मेसीमा प्रहरीले नक्कली तथा…





