भक्तपुरमा भव्‍यताका साथ मनाइयो गाईजात्रा

२७ साउन, भक्तपुर। यसवर्ष भक्तपुरमा गाईजात्रा पर्व  भव्‍य रुपमा मनाइएको छ । कोरोना भाइरसको महामारीका कारण विगत दुई वर्षसम्म औपचारिकतामा मात्रै सीमित गाईजात्रा पर्व यस वर्ष भने भव्यरुपमा मनाएको हो ।

भक्तपुरको नेवार समुदायमा मृतकका परिवारले बिहानैदेखि गाईजात्रा निकालेका छन् । बिहानैदेखि जिउँदो गाई, कुमारी कन्या तथा माटोको गाई निर्माण गरी टोलटोल घुमाइएको छ ।

भक्तपुरको गाईजात्राको प्रमुख आकर्षण भनेको घिन्ताङकिसी नाच, माक प्याख नाच भएकाले गाईजात्रा हेर्न उपत्यकालगायत विभिन्न क्षेत्रका नागरिक यहाँ आउने गर्दछन् । आजको मुख्य जात्रापछि यहाँ सात दिनसम्म घिन्ताङकिसी नाच र व्यङ्ग्य प्रदर्शन गरी पर्व मनाइने परम्परा छ ।

दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व भक्तपुरमा मनाउन थालिएको हो ।

व्यङ्य प्रर्दशन गरिने भएकाले मध्याह्नपछि जात्रा आकर्षक हुने गर्दछ । हिन्दूधर्मग्रन्थ पद्मपुराणमा उल्लेख भएअनुसार यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र मत्र्यलोक अर्थात पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतात्माले यमलोक प्रवेशपाई मुक्ति पाउने उल्लेख गरिएको संस्कृतकर्मी रामेश्वर श्रेष्ठले जानकारी दिए । गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको उनले बताए ।पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले ‘जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु’ भनी आदेश दिएपछि गाईजात्रा सुरु भएको ऐतिहासिक मान्यता रहेको छ ।घरघरबाट गाईजात्रा निकाले पछि पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम समेत गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो । यद्यपि भक्तपुरका संस्कृतकर्मी भने गाईजात्रा पर्व १४औं शताब्दीभन्दा अगाडि लिच्छवीकालको अन्त्यमा सुरु भएको बताउँछन् ।

आजका दिन सहभागीलार्ई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा छ ।

 

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.0kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
Shares