रैथाने संस्कृतिको गर्वका साथ समलिङ्गी–तेस्रोलिंगीले मनाए इन्द्रेणी रोपाइँ जात्रा

काठमाडौं-असार १६।हिजो आइतबार  नेपाली कृषि परम्परामा दहीचिउरा खाने, हिलोमा रमाउने, धान रोप्ने दिन। यही दिन यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले देशको राजधानी काठमाडौँको बौद्धमा धान मात्र होइन, आत्मसम्मान, मौलिकता र समावेशिताको फसल रोपे।
सुभ होटलको प्राङ्गणमा पञ्चेबाजाको तालमा नाच्दै, झमझम पानी रुझ्दै, रैथाने भेषभूषासहित आयोजना गरिएको ‘दोस्रो इन्द्रेणी रोपाइँ जात्रा’ले समुदायको उत्पादनशील परिचय स्थापित मात्र गरेन, संस्कृतिको गहिराइ र भविष्यप्रतिको दृष्टिकोण समेत उजागर ग¥यो।
गत वर्ष बौद्ध स्तुपाबाट सुरु गरिएको यो जात्रालाई यसपटक ‘मायाको पहिचान नेपाल’, ‘लिड नेपाल’, ‘डाकिनी हस्पिटालिटी’ र ‘इनक्ल्युसिभ फोरम नेपाल’ लगायत सङ्घसंस्थाले संयुक्त रूपमा आयोजना गरेका थिए।
सुनिल बाबु पन्त, एसियाकै पहिलो समलिङ्गी संविधानसभा सदस्य तथा मायाको पहिचान नेपालका कार्यकारी निर्देशक, स्पष्ट छन् “गाईजात्रा, मारुनी, नटुवा, सिँगारु, रत्यौलीजस्ता पर्वहरूमा तेस्रोलिंगी व्यक्तिहरूको ऐतिहासिक उपस्थिति छ। इन्द्रेणी रोपाइँ जात्रा तिनै परम्पराको पुनर्जागरण हो।“
उनका अनुसार यो अभियान कुनै पश्चिमी नक्कल होइन, आफ्नो माटो र मौलिकताको आधारमा समावेशिताको अभ्यास हो:“हामी पश्चिमाको संस्कारलाई सम्मान गर्छौँ, तर केवल अनुकरण गरेर होइन। ‘एलजीबीटीक्यूआई’ जस्ता अक्षरहरूभन्दा हामी हाम्रो रैथाने भाषामै विश्वास गर्छौँ। हाम्रो पहिचान नेपाली मौलिकता भित्रै प्रकट हुन्छ।”
पन्तले कृषिमा देखिएको सङ्कट, मलखादको अभाव, आत्महत्यामा पुगेका किसानहरू, प्रविधिको कमीप्रति गम्भीर चिन्ता जनाए। “हामी कृषकका मागमा ऐक्यबद्धता जनाउँछौँ। कृषिको आधुनिकीकरण, बजारको ग्यारेन्टी र कृषकको अधिकार प्रत्याभूति राज्यले गर्नुपर्छ।”
नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य चम्पा कार्की को ठम्याइ छ—समावेशिता कागजमा सीमित हुन हुन्न: “संविधानले दिएको अधिकार कटौती हुँदै गएको छ। सङ्घीयता कार्यान्वयनभन्दा परम्परागत सोचमै सरकार रमाइरहेको छ। यस्तो बेला इन्द्रेणी रोपाइँ जात्राले व्यवहारमा समावेशिता देखायो।”
उनको अभिव्यक्ति राजनीतिक सन्देश मात्र थिएन, आत्मप्रतिबद्धता पनि थियो: “अधिकार र कर्तव्य दुवैमा हामी सबै समान हौँ भन्ने सन्देश दिनु अहिलेको आवश्यकता हो। तपाईँहरूको अभियान मेरो पनि अभियान हो।”
तेस्रोलिंगी पहिचानका बद्री पुन (दिलु बुदुजा) म्याग्दीका स्थायी बासिन्दा हुन् र इनक्लुसिभ फोरम नेपालका अध्यक्ष। “हामी विदेश जानु पर्दैन, हामी यही माटोमा पसिना बगाएर आत्मनिर्भर बन्न सक्छौँ। कृषि क्रान्तिबाट बेरोजगारी र गरिबी हट्छ।”
उनका अनुसार यो जात्राले केवल दृश्य प्रदर्शन मात्र होइन, नीति निर्माण तहसम्म सन्देश पुर्‍याउने काम गरेको छ:“हामी पश्चिमी शैलीको अन्धानुकरण गर्दैनौँ। हामी कृषि, संस्कृति र आत्मनिर्भरताको सन्देश दिन्छौँ। यस जात्राले हाम्रो समुदाय देखाउने मात्र होइन, बुझाउने काम गरेको छ।”
यौनिक अधिकारकर्मी नुमा लिम्बु (चञ्चला) ले समुदायमाथि लगाइने आरोप र पूर्वाग्रहप्रति व्यङ्ग्य गर्दै भनिन: “हाम्रो समुदायले रोपेको धान फल्दैन भन्ने भ्रम छ। तर व्यवहारमा हाम्रो रोपाइँले सबैभन्दा बढी फल दिएको छ।”
समावेशी पर्व, सांस्कृतिक क्रान्ति
मायाको पहिचान नेपाल, लिड नेपाल, डाकिनी हस्पिटालिटी र इनक्ल्युसिभ फोरम नेपालले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका लागि समावेशी पर्वहरूको वार्षिक क्यालेन्डरसमेत प्रकाशन गरेका छन्। यी पर्वहरू अब केवल मनोरञ्जन होइन—चेतना र अधिकारको आन्दोलन बनेका छन्।
मायाको पहिचान नेपालकी अध्यक्ष माया गुरुङ्गले यो पहिचानको आन्दोलनमा सबैको सहभागिता देखेर गर्व व्यक्त गरिन्। सचिव सुरेन्द्र पाण्डेले समुदायको सहभागिताले दोस्रो इन्द्रेणी रोपाइँ जात्रालाई ऐतिहासिक बनाएको बताए। माया र सुरेन्द्र दक्षिण एसियामा पहिलो पटक समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गर्न सफल जोडी हुन्।
नेपाल कृषि प्रधान देश हो भन्ने वाक्य केवल पाठ्यपुस्तकको पङ्क्ति बनिरहँदा, इन्द्रेणी रोपाइँ जात्राले त्यो सन्देशलाई जीवन्त बनाएको छ। यो त्यो बिरुवा हो, जसले हिलोमै हुर्किएर स्वाभिमानको अन्न दिन्छ। र इन्द्रेणी रोपाइँ जात्रा त्यसको सबल सुरुआत हो।
Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.0kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
468 Shares