

आज उधौली पर्व मनाउँदै
काठमाडौं । आज मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बिहीबार पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उधौली पर्व मनाउँदैछन्।
किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा उधौली धुमधामसँग मनाउँदैछन्। लिम्बूहरूले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन सुरू गरेका थिए। आज संयुक्त रूपमा यस समुदायका सबैले उधौली सकेला अर्थात् उँधौली पर्व मनाउँछन्। किरात संस्कृतिबारे अनुसन्धानरत कीर्तिकुमार दुमी राई किराँतभित्रका जातजातिले मनाउने यो पर्वलाई फरक फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउँछन्।
किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई पर्वका रूपमा मनाउँछन्। बाली लगाउने बेलामा भने किराँत जातिमा यावा अर्थात् उभौली पर्व मनाइने प्रचलन छ।
भूमिपूजाका लागि बिहानैदेखि किराँत महिला तथा पुरुषहरू जातीय वेशभूषामा सजिएर च्याबु्रङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन्। पर्व र रीतिरिवाज एउटै भए पनि आ–आफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ।
ललितपुरको सानो हात्तीवन किराँतकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थल मानिन्छ। आज त्यहाँ चाड विशेष रूपमा मनाइन्छ। लिम्बूहरूले युमासामाङ र थेवासामाङलाई आफ्नो इष्टदेवता मान्छन् भने किराँतहरू तागेरा निङ्वाफुमाङलाई आफ्नो देवताका रूपमा पुज्ने गर्छन्। तागेरा निङ्वाफुमाङलाई आकृति विनाको अदृश्य शक्ति मानिने भएकाले मूर्ति वा प्रतिमा नहुने भनाइ छ।पूजापछि आ–आफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रुङनाच, ढोलनाचलगायतका नाच नाचेर मनोरञ्जन गर्छन्। पर्व मनाउन त्यहाँ भेला भएका किराँतहरूले आफ्नो परम्परगत सांस्कृतिक कार्यक्रम र विभिन्न खेलकुद प्रतियोगिता पनि आयोजना गर्ने परम्परा छ।
वैशाख शुक्ल पूर्णिमामा उभौली पूजा गरेका किराँतले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन्। जसलाई पर्यावरण अनुकूलताअनुरूपका कामका रुपमा समेत लिइने अनुसन्धाता राईले बताए। जाडोमा तल झर्ने गर्मीमा माथि लेकमा जाने रूपमा पनि उधौली र उभौली पर्वलाई लिने गरिन्छ।
उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रूपमा मनाउने गरिएको विश्वाससमेत किराँत जातिमा छ । दुवै पर्वलाई किराँत समुदायले भव्य रूपमा मनाउँछन्।
खस आर्यले मनाउने धान्य पूर्णिमा, नेवार समुदायले मनाउने यः मरि पुन्हि अर्थात् योमरी पूर्णिमा र किराँत समुदायले मनाउने उधौली पर्वको भाव भने एकै छ। नयाँ अन्न बाली भित्र्याएपछि आ आफूले मानेका देवी देवतालाई चढाएर खाने परम्परा छ। यस पर्वका अवसरमा विगतमा काटिएको बिदालाई सरकारले पुनः दिन थालेको छ। यस अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ।
समाज
थप सामाग्री-
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
-
प्रहरी वृत्त बानेश्वरको नवनिर्मित भवन हस्तान्तरण, सेवा प्रवाहलाई थप सुदृढ बनाउने लक्ष्य
-
रातो मच्छिन्द्रनाथ रथयात्रा शनिबार भोटो देखाएपछि सम्पन्न हुँदै
-
आज असार ५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि
3.0kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…



