घृणाको आगोले समाजको मेरुदण्ड नजलाओस्

भिड नियन्त्रण गर्न ड्युटीमा खटिएका प्रहरीमाथि ढुङ्गा–मुढा प्रहार हुन्छ, कुटपिट हुन्छ, तर त्यसलाई सामान्य ठान्ने प्रवृत्ति बढ्दो देखिन्छ। प्रहरी कुटिँदा धेरैले देखेनन्, तर प्रहरीको सामान्य त्रुटि भने तुरुन्तै सामाजिक सञ्जालमा छ्यापछ्याप्ती हुन्छ। प्रश्न उठ्छ—के कानुन कार्यान्वयन गर्न खटिएको सुरक्षाकर्मीमाथि आक्रमण गर्नु स्वीकार्य छ?
आपत–विपतमा सबैभन्दा पहिले सम्झिने संस्था नै प्रहरी हो। दुर्घटना हुँदा, बलात्कार वा हत्या हुँदा, लुटपाट वा डकैती हुँदा, घरछिमेकमा झैझगडा हुँदा, यहाँसम्म कि कसैको मृत्यु हुँदा पनि प्रहरीकै खोजी हुन्छ। २४ सै घण्टा शान्ति र सुरक्षाको जिम्मेवारी बोकेको संगठनप्रति समाजले आफ्नो आवश्यकता त सम्झिन्छ, तर कर्तव्य निर्वाहका क्रममा उनीहरूले भोग्ने जोखिम र पीडा भने बिरलै बुझ्ने प्रयास गर्छ।
राजधानी जस्तो अत्यन्त प्रदूषित सहरमा दिनरात घाम, पानी, धूलो र धुवाँ सहँदै १०–१२ घण्टा सडकमा उभिएर ट्राफिक व्यवस्थापन गर्नु सजिलो काम होइन। एक घण्टा मोबाइल नहुँदा असहज हुने हामीमध्ये कतिले ती सुरक्षाकर्मीको कठोर दिनचर्या कल्पना गरेका छौं? ट्राफिक प्रहरी नहुँदा फुटपाथमै मोटरसाइकल कुदाउने, एम्बुलेन्स जाममा अड्किने—यस्ता दृश्यहरूले हाम्रो सामूहिक चेतनाको स्तर देखाउँछ।
निस्सन्देह, कुनै पनि संस्थाभित्र त्रुटि हुन सक्छ। केही व्यक्तिका गल्तीहरूलाई लिएर आलोचना हुनु स्वाभाविक हो, र सुधारको अपेक्षा गर्नु पनि नागरिक अधिकार हो। तर लाखौं नागरिकको सुरक्षाका लागि खटिएका हजारौं इमानदार प्रहरीलाई एउटै तराजुमा राखेर दोषारोपण गर्नु न्यायसंगत होइन। आफ्नै परिवारमा पनि केही कमजोर सदस्य हुन सक्छन् भन्दैमा पूरै परिवारलाई दोषी ठहर्याइँदैन।
प्रहरी संगठन हाम्रो समाजको मेरुदण्ड हो। मेरुदण्ड कमजोर भयो भने शरीर टिक्दैन; सुरक्षा प्रणाली कमजोर भयो भने समाज अस्थिर बन्छ। त्यसैले आलोचना गरौं, तर जिम्मेवार ढंगले। सुधारको माग गरौं, तर संस्थामाथि घृणाको विष नछरौं।
घृणा यति नफैलाऔं कि समाजको मेरुदण्ड नै भाँचियोस्।

Facebook Comments Box
TOP
103 Shares