कार्की आयोग कार्यान्वयन निर्णयसँगै राजधानी ‘हाई अलर्ट’, गुण्डुमा ओली निवास वरिपरि कडा सुरक्षा

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले महत्वपूर्ण निर्णय गर्दै गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने घोषणा गरेसँगै राजधानी काठमाडौँको सुरक्षा व्यवस्था उच्च सतर्कतामा पुर्‍याइएको छ। सरकारको यस कदमपछि उत्पन्न हुन सक्ने सम्भावित राजनीतिक तथा सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै सुरक्षा निकायहरू ‘हाई अलर्ट’ मा राखिएका हुन्।

उच्च सुरक्षा स्रोतका अनुसार, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवास रहेको भक्तपुरको गुण्डु क्षेत्रमा सुरक्षा निगरानी उल्लेख्य रूपमा कडा पारिएको छ। सो क्षेत्र वरिपरि सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ भने आवतजावतमा समेत सूक्ष्म निगरानी सुरु गरिएको छ।

यसैबीच, ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई पक्राउ गर्ने विषयमा सुरक्षा निकायभित्र गम्भीर छलफल भएको स्रोतले जनाएको छ। यद्यपि, हालसम्म यसबारे कुनै औपचारिक निर्णय भने सार्वजनिक गरिएको छैन। तर सम्भावित घटनाक्रमलाई ध्यानमा राख्दै सुरक्षा संयन्त्र पूर्ण तयारी अवस्थामा राखिएको छ।

स्रोतका अनुसार, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालको नक्सालस्थित सरकारी निवासमा गृहमन्त्री, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की तथा सशस्त्र प्रहरी नेतृत्वबीच उच्चस्तरीय बैठक जारी छ। बैठकमा वर्तमान सुरक्षा अवस्था, सम्भावित जोखिम र त्यसको व्यवस्थापनबारे विस्तृत छलफल भइरहेको जनाइएको छ।

यसअघि नै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आफ्ना मातहतका सबै युनिटहरूलाई आन्तरिक सर्कुलर जारी गर्दै ‘हाई अलर्ट’ मा रहन निर्देशन दिइसकेका छन्। काठमाडौँ उपत्यकाभरका सुरक्षा इकाइहरूलाई आकस्मिक परिस्थितिसमेत सामना गर्न तयार रहन भनिएको छ।

सरकारको निर्णयसँगै मुलुकको राजनीतिक वृत्तमा नयाँ तरंग उत्पन्न भएको छ भने सुरक्षा सतर्कता अभूतपूर्व रूपमा कडा पारिएको छ। आगामी दिनमा यसले कस्तो मोड लिन्छ भन्ने विषयमा सर्वत्र चासो बढेको छ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
193 Shares