एमालेभित्र ‘बादल’को अभिव्यक्तिले तरंग: शीर्ष नेताहरू असन्तुष्ट, आकस्मिक सचिवालय बैठक बोलाइयो

काठमाडौँ । नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभा बैठकमा व्यक्त गरेको विचारले पार्टीभित्र तीव्र हलचल पैदा गरेको छ। बादलको अभिव्यक्ति पार्टीको आधिकारिक नीति, सिद्धान्त तथा जनताको बहुदलीय जनवाद (जबज) को मर्मविपरीत भएको भन्दै शीर्ष नेताहरूले सार्वजनिक रूपमै असन्तुष्टि जनाएका छन्।
उपाध्यक्ष विष्णु पौडेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बादलको धारणा एमालेको स्थापित मान्यता विपरीत रहेको टिप्पणी गरेका छन्। उनले दल नेताको हैसियतमा व्यक्त विचार पार्टीको आधिकारिक धारणा नभएको स्पष्ट पार्दै यस विषयमा केन्द्रीय सचिवालय बैठकमा गम्भीर छलफल गरी आवश्यक निर्णय लिइने बताएका छन्।
त्यसैगरी, उपमहासचिव योगेश भट्टराईले पनि बादलको अभिव्यक्तिको खण्डन गर्दै एमालेको मार्गनिर्देशक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ (जबज) को मूल मर्म प्रष्ट्याएका छन्। उनले एमाले सधैँ प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने, शान्तिपूर्ण तथा वैधानिक माध्यमबाट समाज रूपान्तरण गर्ने र जनमतको सम्मान गर्ने पार्टी भएको उल्लेख गरे।
भट्टराईका अनुसार जनमतलाई सम्मान गर्दै पराजयको समीक्षा गरेर सुधारसहित पुनः जनविश्वास हासिल गर्नु नै जबजको मूल आधार हो। उनले एमाले विपक्षमा रहे पनि राज्यप्रति जिम्मेवार दलका रूपमा रहेको र सेना, प्रहरी, न्यायालय तथा कर्मचारीतन्त्रजस्ता राज्यका अंगप्रति पार्टीको सधैँ सम्मान र विश्वास रहने बताए।
यसैबीच, बादलले प्रतिनिधिसभा सम्बोधनका क्रममा नेपाली सेना, कर्मचारीतन्त्र, विभिन्न आयोग, गैरसरकारी संस्था तथा बाह्य प्रभावका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अप्रत्याशित सफलता हासिल गरेको टिप्पणी गरेका थिए। उक्त अभिव्यक्तिलाई लिएर पार्टीभित्र असन्तुष्टि चुलिएको हो।
आकस्मिक बैठक आह्वान
बादलको अभिव्यक्तिपछि विकसित परिस्थितिबारे छलफल गर्न एमालेले सचिवालयको आकस्मिक बैठक बोलाएको छ। उपाध्यक्ष गोकर्ण विष्टका अनुसार बैठक शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।
पार्टी स्रोतका अनुसार बादलले संसदमा व्यक्त गरेको धारणा यसअघि पार्टीभित्र छलफल नगरी सार्वजनिक गरिएको थियो, जसले विवादलाई थप चर्काएको छ। सचिवालय बैठकले यस विषयमा पार्टीको आधिकारिक धारणा तय गर्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
२ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
100 Shares