ओली र लेखक सशर्त रिहा, सर्वोच्चको आदेशपछि थुनामुक्त

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखक हाजिरी जमानीमा रिहा भएका छन् ।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाका  अनुसार लेखकलाई हाजिरी जमानीमा रिहा गरिएको हो । नेपाली कांग्रेसका नेता समेत रहेका उनलाई थुनामुक्त गर्दै परिवारको जिम्मा लगाइएको छ ।
यसअघि पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्माले ओली पनि रिहा भइसकेका छन् ।
रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकार गठन भएको भोलिपल्ट चैत १४ गते बिहान दुवै नेतालाई उनीहरूकै निवासबाट पक्राउ गरिएको थियो ।
भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा ७६ जनाको ज्यान गएको र अर्बौं रुपैयाँ बराबरको क्षति भएको घटनामा तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक जिम्मेवार रहेको आरोप उनीहरूमाथि लगाइएको थियो ।
पूर्वन्यायाधीश गौरी बहादुर कार्की  नेतृत्वमा तयार पारिएको प्रतिवेदनले दुवैलाई १०–१० वर्षसम्म कैद सजाय हुन सक्ने भन्दै कारबाहीको सिफारिस गरेपछि उनीहरूलाई पक्राउ गरिएको थियो ।
पक्राउपछि ओली एक दिन पनि प्रहरी हिरासतमा बसेनन् । स्वास्थ्य उपचारको कारण देखाउँदै उनलाई शिक्षण अस्पताल महाराजगन्जमा राखिएको थियो भने लेखकलाई महाराजगन्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको थियो ।
यस अवधिमा तीन पटक गरी कुल १२ दिन म्याद थप गरिएको थियो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा सुनिल पोखरेलको संयुक्त इजलासले सोमबार सशर्त थुनामुक्त गर्ने आदेश दिएको थियो ।
साथै, पछिल्लो पटक थप गरिएको पाँच दिनभित्र मुद्दा दायर नभए दुवैलाई रिहा गर्न सर्वोच्चले परमादेश दिएको थियो । सोही आदेशअनुसार अहिले दुवै नेता थुनामुक्त भएका हुन् ।

Facebook Comments Box
TOP
406 Shares