

जिल्ला अधिवेशन चैत मसान्तभित्र सक्न निर्देशन, लेवी नतिर्ने र अधिवेशन नगर्ने जिल्लालाई सहभागितामा रोक
यातायात व्यवसायी महासङ्घको सातौँ महाधिवेशन वैशाख २७–२९ मा, विद्युतीय मतदानबाट नेतृत्व चयन
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशन आगामी २०८३ वैशाख २७, २८ र २९ गते आयोजना हुने भएको छ। महासङ्घको केन्द्रीय सचिवालयले सूचना जारी गर्दै निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्ने निर्णय सार्वजनिक गरेको हो।
महाधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन महासङ्घले मातहतका सबै निकायलाई स्पष्ट निर्देशन दिएको छ। जिल्ला अधिवेशन सम्पन्न गर्न बाँकी रहेका जिल्लाहरूलाई चैत मसान्तभित्र अनिवार्य रूपमा अधिवेशन सक्न भनिएको छ। तोकिएको समयसीमा उल्लङ्घन गर्ने जिल्लालाई राष्ट्रिय महाधिवेशनमा सहभागी हुन नदिइने चेतावनीसमेत दिइएको छ।
प्रतिनिधि व्यवस्थापनतर्फ पनि महासङ्घले कडाइ गरेको छ। महाधिवेशनमा भाग लिने प्रतिनिधिहरूको नामावली वैशाख १५ गतेभित्र संकलन गरिसक्नुपर्नेछ। प्रदेश संयोजकहरूले आफ्ना प्रदेशबाट छनोट भएका प्रतिनिधिहरूको विवरण सोही दिन कार्यालय समयभित्र केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
यसका साथै प्रतिनिधिहरूले अनिवार्य रूपमा दुई प्रति फोटो, सदस्य संस्थाको लेवी रकम तथा प्रतिनिधि शुल्क बुझाउनुपर्नेछ। लेवी वा अन्य आर्थिक दायित्व बाँकी राख्ने सदस्यलाई महाधिवेशनमा सहभागी नगराइने महासङ्घले स्पष्ट पारेको छ।
यसपटकको महाधिवेशनको मुख्य विशेषता भनेको प्रविधिको प्रयोग हो। महासङ्घले केन्द्रीय तथा प्रदेश समितिको निर्वाचन एकै दिन र एकै स्थानमा ‘प्रविधिमैत्री विद्युतीय मतदान’ प्रणालीमार्फत सम्पन्न गर्ने तयारी गरेको जनाएको छ। यसले निर्वाचन प्रक्रिया छिटो, पारदर्शी र व्यवस्थित हुने अपेक्षा गरिएको छ।
बागमती प्रदेशका केही जिल्लामा देखिएका समस्यालाई मध्यनजर गर्दै महासङ्घले विशेष व्यवस्था पनि गरेको छ। ती जिल्लाहरूको हकमा केन्द्रीय सचिवालयले तोकेका पदाधिकारीमार्फत नामावली प्रमाणीकरण गराई चैत १५ गतेभित्रै केन्द्रीय कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था मिलाइएको छ।
महासङ्घको यो महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै यातायात क्षेत्रका समसामयिक चुनौती र सुधारका एजेन्डा तय गर्ने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
१४ घण्टा अगाडि
1.8kViews 494 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी वृत्त नयाँ…



