

मधेशमा अपराध नियन्त्रण, तस्करी रोकथाम र बिचौलियाविरुद्ध कडा अभियान
शान्ति सुरक्षामा कुनै सम्झौता हुँदैन : डिआइजी थपलिया
जनकपुरधाम — मधेश प्रदेशमा शान्ति सुरक्षा कायम गर्ने विषयमा कुनै पनि प्रकारको सम्झौता नहुने र लापरबाही कदापि सह्य नहुने मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोविन्द थपलियाले स्पष्ट पारेका छन्।
आइतबार सर्लाहीको मलंगवास्थित जिल्ला प्रहरी कार्यालयमा आयोजित नीति निर्देशन तथा सम्बोधन कार्यक्रममा बोल्दै डिआइजी थपलियाले तस्करी तथा अपराध नियन्त्रण, अनुसन्धानमा तीव्रता र नागरिकमैत्री सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिए। उनले कार्यालयमा कार्यरत प्रहरी कर्मचारी तथा मातहतका युनिट इन्चार्जहरूलाई जिम्मेवारीप्रति सजग, अनुशासित र परिणाममुखी बन्न आग्रह गरे।
“प्रहरी संगठन जनताको सुरक्षाका लागि हो। सेवामा ढिलासुस्ती, गैरजिम्मेवारी र अनुशासनहीनता कुनै पनि हालतमा स्वीकार्य हुँदैन,” उनले भने, “कार्यसम्पादनमा कमजोरी देखिए कडा कारबाही गरिनेछ।”
डिआइजी थपलियाले विशेषगरी सर्लाहीको सीमावर्ती क्षेत्रमा हुने अपराध, लागूऔषध कारोबार, तस्करी तथा विभिन्न सामाजिक अपराध नियन्त्रणमा सक्रियता बढाउन निर्देशन दिए। उनले सूचना संकलन, अन्तर–निकाय समन्वय र प्रविधिको प्रभावकारी प्रयोगमार्फत अपराध नियन्त्रणलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।
उनका अनुसार मधेश प्रदेशका विभिन्न जिल्लाबाट हालसम्म ४० जना बिचौलियालाई नियन्त्रणमा लिई उनीहरूविरुद्ध मुद्दा चलाउने प्रक्रिया अघि बढाइएको छ। सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने, अवैध लाभ लिन खोज्ने तथा सर्वसाधारणलाई दुःख दिने गतिविधिमा संलग्न व्यक्तिहरूलाई पहिचान गरी कारबाही गरिएको उनले बताए।
“बिचौलियाको गलत अभ्यास नियन्त्रण नगरेसम्म सुशासन कायम हुन सक्दैन,” उनले भने।
प्रहरीले पछिल्लो समय बिचौलियामार्फत हुने ठगी, सिफारिसमा चलखेल तथा अवैध रकम असुली जस्ता गतिविधिमा निगरानी बढाएको जनाएको छ। यस्ता कार्यमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याउने अभियान अझ कडाइका साथ अघि बढाइने प्रहरीले स्पष्ट पारेको छ।
साथै, प्रहरीले सर्वसाधारणलाई यस्ता अवैध गतिविधिप्रति सचेत रहन र कुनै पनि शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ। मधेश प्रदेशका आठ जिल्लामा सक्रिय बिचौलियाविरुद्ध कडा कारबाही अभियान सञ्चालन भइरहेको मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरले जनाएको छ।
समाज
थप सामाग्री
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
१४ घण्टा अगाडि
1.8kViews 494 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी वृत्त नयाँ…



