बाबु एआईजी, छोरी एपीएफ इन्स्पेक्टर : सेवा र समर्पणको प्रेरणादायी कथा

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) बाबु र सशस्त्र प्रहरी बल (एपीएफ)की इन्स्पेक्टर छोरी—एकै परिवारभित्र सुरक्षा सेवाको दुई महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने प्रेरणादायी उदाहरण सार्वजनिक भएको छ।

नेपाल प्रहरीको अपराध अनुसन्धान विभागमा कार्यरत एआईजी सुशील सिंह राठौरकी छोरी पालक सिंह राठौर सशस्त्र प्रहरी बलको इन्स्पेक्टर पदमा सफल भएकी छन्। कठिन प्रतिस्पर्धा पार गर्दै इन्स्पेक्टरमा नाम निकाल्नु मात्र होइन, उनले आवश्यक तालिम समेत सफलतापूर्वक सम्पन्न गरी दिक्षित भइसकेकी छन्।

इन्स्पेक्टर पदका लागि हुने तालिम शारीरिक तथा मानसिक रूपमा निकै चुनौतीपूर्ण मानिन्छ। त्यस्तो कठिन यात्रालाई पार गर्दै लक्ष्य हासिल गर्नुले पालकको मेहनत, अनुशासन र प्रतिबद्धता झल्काउँछ।

दिक्षान्त समारोहमा एआईजी राठौर स्वयं उपस्थित भएर छोरीको उपलब्धिलाई साक्षी बने। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत छोरीसँगको तस्वीर सार्वजनिक गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

एकातिर देशको सुरक्षा संयन्त्रमा उच्च पदमा पुगेका बाबु, अर्कोतर्फ सोही मार्ग पछ्याउँदै राष्ट्र सेवामा होमिएकी छोरी—राठौर परिवारको यो उपलब्धि धेरैका लागि प्रेरणाको स्रोत बनेको छ।

यो घटनाले पारिवारिक पृष्ठभूमि मात्र होइन, व्यक्तिगत मेहनत र समर्पणले सफलता सम्भव हुन्छ भन्ने सन्देश पनि दिएको छ।

Facebook Comments Box
TOP
304 Shares