सरकारद्वारा २०६२/०६३ पछिका उच्चपदस्थको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन

काठमाडौं । सरकारले २०६२/०६३ सालको जनआन्दोलनपछि हालसम्म सार्वजनिक पद धारण गरेका उच्चपदस्थ राजनीतिक व्यक्तित्व तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विगत दुई दशकको अवधिमा पदमा रहेका राजनीतिक नेतृत्व र उच्च सरकारी पदाधिकारीहरूको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण तथा विस्तृत छानबिन गर्ने उद्देश्यसहित पाँच सदस्यीय शक्तिशाली आयोग गठन गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार आयोगको संयोजकमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारी रहेका छन्।

त्यसैगरी आयोगका सदस्यहरूमा पूर्वन्यायाधीश पुरुषोत्तम पराजुली, चण्डिराज ढकाल, पूर्वप्रहरी नायब महानिरीक्षक गणेश केसी तथा चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल रहेका छन्।

सरकारले गठन गरेको उक्त आयोगले २०६२/०६३ देखि आर्थिक वर्ष ०८२/०८३ सम्म सार्वजनिक पदमा रहेका प्रमुख राजनीतिक व्यक्तित्व तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण संकलन, विश्लेषण र आवश्यक परे कानुनी कारबाहीका लागि सिफारिस गर्नेछ।

आयोगलाई सम्पत्ति शुद्धता, स्रोत खुल्ने/नखुल्ने अवस्था तथा अस्वाभाविक सम्पत्ति वृद्धि सम्बन्धी विषयमा गहिरो अध्ययन गर्ने जिम्मेवारी दिइएको छ।

Facebook Comments Box
TOP
407 Shares