फोन अडियो भाइरलपछि सप्तरीका एसपी गौतम केसीमाथि छानबिन सुरु

सप्तरी । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम केसीमाथि औपचारिक छानबिन प्रक्रिया सुरु गरिएको छ। एक सञ्चारकर्मीसँग भएको भनिएको फोन संवाद सामाजिक सञ्जालमा भाइरल बनेपछि मधेश प्रदेश प्रहरी कार्यालयले अनुसन्धान अघि बढाएको हो।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाका अनुसार वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कमल थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिलाई सार्वजनिक भएको अडियोको सत्यता, संवादको सन्दर्भ र त्यसबाट उत्पन्न विवादको विस्तृत अध्ययन गर्ने जिम्मेवारी दिइएको छ।

भाइरल अडियोमा एसपी केसी र तिलाठी कोइलाडी गाउँपालिका–४ का सञ्चारकर्मी प्रह्लाद सिंह ‘विक्की’बीचको संवाद रहेको बताइएको छ। उक्त अडियोमा एसपीले एक व्यक्तिलाई लक्षित गर्दै अपशब्द प्रयोग गर्नुका साथै धम्कीपूर्ण अभिव्यक्ति दिएको सुनिएको दाबी गरिएको छ, जसले प्रहरी आचरणमाथि प्रश्न उठाएको छ।

अडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया देखिएको छ। सर्वसाधारणदेखि अधिकारकर्मीहरूसम्मले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

यसैबीच, राजविराज नगरपालिका–३ का मुस्तकिम आलमले पनि आफू अन्यायविरुद्ध बोल्दा एसपी केसीबाट फोनमार्फत धम्की आएको आरोप सार्वजनिक गरेका छन्। उनले आफूलाई नियोजित रूपमा फसाउने प्रयास भइरहेको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्।

घटनाबारे प्रतिक्रिया लिन पटक–पटक प्रयास गर्दा पनि एसपी केसीसँग सम्पर्क हुन सकेको छैन। यद्यपि, मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाइने तथा निष्कर्षका आधारमा आवश्यक कारबाही गरिने जनाएको छ।

यस घटनाले प्रहरी संगठनभित्रको आचरण, जवाफदेहिता र अनुशासनको विषय पुनः बहसको केन्द्रमा ल्याएको छ।

Facebook Comments Box
सुरक्षा अभियान र घरभाडा प्रणालीमा प्रहरी सहकार्यको आवश्यकता
८ घण्टा अगाडि

2.2kViews 303 Shares Share on Facebook Share on Twitter काठमाडौं उपत्यकामा हालै अघि सारिएको सुरक्षा अभियानले शान्ति–सुरक्षाको सुदृढीकरणमा नयाँ सम्भावना…

TOP
212 Shares