

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि बाह्रसिङ्गा गणना सुरु गरिएको छ । निकुञ्ज कार्यालय, नेपाली सेना तथा राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका साझेदार संस्थाको संयुक्त सहभागितामा गणना सुरु गरिएको हो । यसका लागि ३५ जना परिचालन गरिएको छ ।
निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार ‘हेड काउन्ट’ विधिबाट बाह्रसिङ्गा गणना सुरु गरिएको छ । गणनाका लागि मचानमा बसेर, फायरलाइनमा सवारीसाधन प्रयोग गरी तथा हात्तीको सहायताबाट गणना (अवलोकन) गरिने व्यवस्था मिलाइएको छ ।गणनाका लागि बाइनाकुलर, क्यामेरा, टेलिस्कोप, दूरबिन र ड्रोनको प्रयोग गरिनेछ भने दुर्गम तथा हिँडेर पुग्न नसकिने क्षेत्रमा तीनवटा हात्ती परिचालन गरिएको जनाइएको छ । फायरलाइनमा दुई सवारीसाधन र चारवटा मचानमा तीन–तीन जनाको प्राविधिक जनशक्ति खटाइएको छ ।गणना बिहान ६ः०० देखि ९ः०० बजेसम्म र साँझ ४ः०० देखि ७ः०० बजेसम्म भइरहेको छ । आजदेखि सुरु भएको गणना वैशाख १२ गतेसम्म जारी रहने छ । गणनाका क्रमा बाह्रसिङ्गाको सङ्ख्या एकिन गर्ने, बासस्थाको अवस्थाबारे अध्ययन गर्ने, आहार तथा जोखिमको मूल्याङ्कन गरिने सूचना अधिकारी वाग्लेले बताए ।निकुञ्जको मझगाउँ मुख्य कार्यालयदेखि करिब २४ किलोमिटर दक्षिणमा रहेको शुक्लाफाँटा घाँसेमैदान नेपालकै सबैभन्दा ठूलो घाँसेमैदान मानिन्छ । करिब ३४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस क्षेत्रमा विश्वकै ठूलो झुण्डका रूपमा बाह्रसिङ्गा पाइन्छन् । विसं २०८१ मा गरिएको गणनामा यहाँ दुई हजार १८२ बाह्रसिङ्गा देखापरेका थिए ।निकुञ्जका रेञ्जर प्रयास केसीका अनुसार निकुञ्जमा बाह्रसिङ्गाको सङ्ख्या सन्तोषजनक छ । पछिल्ला वर्षहरूमा मुख्य घाँसेमैदानबाहेक अन्य क्षेत्रमा पनि बाह्रसिङ्गा देखिन थालेका छन् । “यो संरक्षणका हिसाबले सकारात्मक सङ्केत हो”, उनले भने, “गणनालाई घाँसेमैदानमा मात्र सीमित नराखी बाह्रसिङ्गा पाइने सम्भावित अन्य क्षेत्रमा समेत विस्तार गरिएको छ ।”बाह्रसिङ्गा बाघको प्रमुख आहार प्रजातिका रूपमा रहेको छ । पर्याप्त आहार र उपयुक्त बासस्थान व्यवस्थापनका कारण निकुञ्जमा बाघको सङ्ख्यासमेत वृद्धि हुँदै गएको जनाइएको छ ।रासस
समाज
थप सामाग्री
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
११ घण्टा अगाडि
1.7kViews 494 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी वृत्त नयाँ…



