मधेश प्रहरीभित्र ‘क्लिन–अप अपरेशन’: बरिष्ठ सई सागर शम्शेर राणा निलम्बित, अपराध–तस्करी नेक्ससमा ठूलो पर्दाफास

धनुषा /काठमाडौं।
मधेश प्रदेश प्रहरीभित्र लामो समयदेखि मौलाउँदै आएको आपराधिक सञ्जाल र आन्तरिक विकृतिमाथि कडा प्रहार गर्दै बरिष्ठ सई सागर शम्शेर राणालाई निलम्बन गरिएको छ। प्रहरी नेतृत्वले यस घटनालाई संगठन शुद्धीकरण अभियानअन्तर्गतको निर्णायक कदमका रूपमा लिएको जनाएको छ।

मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरका प्रमुख डिआईजी गोविन्द थपलियाका अनुसार राणामाथि तस्करसँग मिलेमतो गरी बनावटी अडियो तयार पार्दै प्रहरी संगठन र उच्च नेतृत्वलाई बदनाम गर्न खोजेको गम्भीर आरोप पुष्टि भएपछि विभागीय कारबाही अगाडि बढाइएको हो। प्रारम्भिक अनुसन्धानले राणाले योजनाबद्ध रूपमा तस्करहरूसँग समन्वय गरी फोन संवाद तयार गराएको र त्यसलाई दबाबको माध्यम बनाएर सरुवा तथा व्यक्तिगत स्वार्थ पूरा गर्न खोजेको संकेत देखाएको छ।

डिआईजी थपलियाले स्पष्ट चेतावनी दिएका छन्,
“संगठनभित्र बसेर तस्करसँग साँठगाँठ गर्ने, झुटा अफवाह फैलाउने र प्रहरी संस्थालाई बदनाम गर्ने कसैलाई पनि छुट दिइँदैन।”

पुरानो आरोपदेखि नयाँ कारबाहीसम्म

राणामाथि यसअघि पनि गम्भीर आरोपहरू लाग्दै आएका थिए। वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि कुटपिट गरेको घटनामा उनीसहित ७ जनाविरुद्ध जाहेरी परे पनि सरकारी वकिल कार्यालय पर्साले मुद्दा नचलाउने निर्णय गरेको थियो। उक्त निर्णय विवादास्पद बनेको थियो, किनकि सबै अभियुक्तसँग बयान नलिई मुद्दा नचलाउने निर्णय गरिएको आरोप उठेको थियो।

पीडित पक्षले न्याय प्रक्रियामाथि प्रभाव पारिएको आशंका व्यक्त गर्दै आएको थियो। घटनापछि राणाले उल्टै पीडितलाई धम्की दिएको आरोपसमेत सार्वजनिक भएको थियो।

त्यसैगरी, ज्यान मार्ने उद्योगजस्तो गम्भीर अभियोगमा पक्राउ पूर्जी जारी हुँदा समेत लामो समय फरार रहँदा र कार्यालयमा हाजिर नभए पनि कुनै कारबाही नहुनुले प्रहरीभित्रै संरक्षण रहेको आशंका बलियो बनेको थियो।

अवैध गतिविधि र शक्ति पहुँचको आरोप

प्रहरी स्रोतका अनुसार राणामाथि तस्करी गिरोहसँग सम्बन्ध राख्ने, अवैध असुली गर्ने र रकम आफ्ना नजिकका व्यक्तिहरूको बैंक खातामार्फत उठाउने आरोप समेत लागेका छन्। बारा–पर्सा क्षेत्रमा क्यासिनोमा अवैध लगानीदेखि लिएर अपराधीक समूहसँग आर्थिक लेनदेनसम्मका विषयमा उनी विवादमा तानिँदै आएका थिए।

यस्ता गतिविधिमा संलग्न भए पनि लामो समयसम्म कारबाही नहुनु उनको उच्च तहसम्मको पहुँचको संकेतका रूपमा हेरिएको थियो।

‘क्लिन–अप अपरेशन’ तीव्र

प्रहरी नेतृत्वका अनुसार मधेश प्रदेशमा तस्करी, बिचौलियापन र राजनीतिक संरक्षणको जालो तोड्ने उद्देश्यले ‘क्लिन–अप अपरेशन’ सञ्चालन गरिएको छ। हालसम्म १८७ जना प्रहरीमाथि विभिन्न कारबाही भइसकेको र केहीलाई प्रदेश बाहिर सरुवा गरिएको जनाइएको छ।

यसबीच, केही असन्तुष्ट समूहले नेतृत्वविरुद्ध भ्रामक अडियो र समाचार सार्वजनिक गरेर दबाब सिर्जना गर्ने प्रयास गरेको आरोप पनि प्रहरीको छ। बिचौलिया प्रयोग गरी झुटा सामग्री प्रसारण गराउने गतिविधि बढेको प्रहरीको दाबी छ।

सुशासनको परीक्षण

हालको कारबाहीलाई सुशासन र प्रहरी संगठनभित्रको अनुशासन पुनःस्थापनाको परीक्षणका रूपमा हेरिएको छ। प्रहरी नेतृत्वले दशकौँदेखि जरा गाडेको आपराधिक सञ्जाल तोड्न कठोर कदम आवश्यक रहेको उल्लेख गर्दै यस्तो अभियानलाई निरन्तरता दिने संकेत दिएको छ।

यो प्रकरणले मधेश प्रहरीभित्रको आन्तरिक शुद्धीकरण अभियानलाई थप तीव्र बनाउनुका साथै संगठनभित्र पारदर्शिता, विश्वास र जवाफदेहितामाथि व्यापक बहस सुरु गराएको छ।

Facebook Comments Box
TOP
256 Shares