सरकारको ‘विकास मोडेल’माथि सीके राउतको प्रश्न, बाटो सच्याउन चेतावनी

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै तत्काल सुधार गर्न चेतावनी दिएका छन्। सरकार गठन भएको सय दिन नपुग्दै उनले सामाजिक सञ्जालमार्फत सरकारको विकास अवधारणा र नागरिकप्रतिको व्यवहारमाथि गम्भीर प्रश्न उठाएका हुन्।

राउतका अनुसार विकासको अर्थ केवल चिल्ला फुटपाथ र चौडा सडक निर्माण मात्र होइन। उनले हरेक नागरिकले खुट्टा टेक्ने सुरक्षित ठाउँ, ओत लाग्ने आवास र आधारभूत सेवामा पहुँच पाउनुपर्नेमा जोड दिएका छन्। राजधानी क्षेत्रमा गरिब, मजदुर तथा सीमान्तकृत समुदायलाई विस्थापित गरेर निर्माण गरिने संरचनालाई उनले ‘नवधनाढ्यहरूको विलासिता’ को संज्ञा दिएका छन्।

राज्यको मूल आधार जनता भएको उल्लेख गर्दै राउतले सरकार जनताको सेवा गर्न नियुक्त संयन्त्र भएको बताएका छन्। उनले राज्यका निकायहरूले आफ्नो अधिकार र सीमाको ख्याल नगरी शक्ति प्रदर्शन गर्न खोज्नु गलत हुने चेतावनी दिएका छन्। सत्ता, सेना, हतियार वा सामाजिक सञ्जालको प्रभावका आधारमा आफूलाई जनताभन्दा माथि ठान्नु खतरनाक हुने उनको भनाइ छ।

इतिहासतर्फ संकेत गर्दै उनले अतीतमा सत्तामा बसेकाहरूले पनि आफूलाई सर्वशक्तिमान ठानेको तर त्यसको परिणाम राम्रो नभएको स्मरण गराएका छन्। निर्णय प्रक्रियामा संवेदनशीलता अपनाउन सुझाव दिँदै उनले ‘गोल्डेन रुल’ को प्रयोग गर्न आग्रह गरेका छन्—अर्थात् कुनै पनि निर्णय गर्दा पीडितको ठाउँमा आफ्ना सन्तानलाई राखेर सोच्नुपर्ने उनको तर्क छ।

राउतले राज्यको व्यवहारले भविष्यको पुस्तामा गहिरो प्रभाव पार्ने उल्लेख गर्दै पछिल्ला कदमहरूले नकारात्मक सन्देश दिन सक्ने बताएका छन्। जनताको संरक्षण गर्नुपर्ने राज्यले नै नागरिकलाई घरबारविहीन बनाउनु विधिको शासनविपरीत हुने उनको निष्कर्ष छ।

Facebook Comments Box
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
१ दिन अगाडि

1.3kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि विभिन्न…

TOP
110 Shares