विश्व सडक सुरक्षा सप्ताह–२०२६ : उपत्यकाभर ट्राफिक प्रहरीको व्यापक सचेतना अभियान

काठमाडौं । “विश्व सडक सुरक्षा सप्ताह–२०२६” को अवसर पारेर काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा व्यापक ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ।
सडक सुरक्षाप्रति नागरिकलाई सचेत बनाउने उद्देश्यले आयोजित कार्यक्रममा ट्राफिक जनचेतनामूलक प्लेकार्ड र व्यानर प्रदर्शन गरिएको थियो भने सर्वसाधारण तथा सवारी चालकलाई पर्चा, पम्पलेट र स्टिकर वितरण गरिएको प्रहरीले जनाएको छ।
विशेषगरी दुई पाङ्ग्रे सवारी चालकलाई लक्षित गर्दै “२ मिनेट ट्राफिक सचेतना” कार्यक्रम सञ्चालन गरिएको थियो। उक्त कार्यक्रममा हेल्मेटको सही प्रयोग, तीव्र गति नियन्त्रण, लेन अनुशासन, मोबाइल प्रयोग नगर्ने तथा ट्राफिक नियमको पालना गर्नुपर्ने विषयमा जानकारी दिइएको थियो।
ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरणका लागि जनचेतना नै सबैभन्दा प्रभावकारी उपाय भएको उल्लेख गर्दै यस्ता अभियानलाई निरन्तरता दिइने जनाएको छ।
कार्यक्रममा चालक, यात्रु तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो। प्रहरीले सुरक्षित यात्रा र जिम्मेवार सडक प्रयोगका लागि सबै नागरिकलाई ट्राफिक नियम पालना गर्न आग्रह समेत गरेको छ।

Facebook Comments Box
TOP
221 Shares