“लोकतन्त्रका संस्थाको रक्षा गर्नु नै भविष्यको रक्षा हो”- केपी ओली

काठमाडौं ।पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र दिवसको अवसरमा लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सबैलाई आह्वान गरेका छन् । शुक्रबार गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र प्राप्तिका लागि नेपाली जनताले सात दशकभन्दा लामो संघर्ष गर्नुपरेको स्मरण गरेका हुन् ।

उनले जनताको बलिदान, त्याग र संघर्षबाट हुकुमी शासन अन्त्य भई कानुनको शासन स्थापित भएको उल्लेख गर्दै लोकतान्त्रिक गणतन्त्र केवल शासन प्रणाली परिवर्तन नभई नेपाली समाजको चेतनामा आएको गहिरो रूपान्तरण भएको बताए ।

“शताब्दीयौँसम्म ‘प्रजा’ भएर बाँचेको समाज, आफैंले बनाएको संविधानमार्फत सार्वभौम नागरिकमा रूपान्तरित भएको थियो,”  पुर्व प्रधानमन्त्री ओलीले सन्देशमा उल्लेख गरेका छन् ।

उनले गणतन्त्र स्थापनाका लागि हजारौं अग्रजले जीवन बलिदान दिएको, कैयौंले जेल, यातना र निर्वासन भोगेको स्मरण गर्दै सबै अमर शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

ओलीले छोटो अवधिमै नेपालमा सामाजिक तथा भौतिक विकासका क्षेत्रमा उल्लेखनीय प्रगति भएको दाबी गरे । गाउँगाउँसम्म स्थानीय सरकारको पहुँच, महिला, दलित, जनजाति, मधेशी तथा पिछडिएका समुदायको राज्यका विभिन्न तहमा बढ्दो प्रतिनिधित्व, खुला अभिव्यक्ति, नागरिक स्वतन्त्रता, डिजिटल सेवाको विस्तार तथा सडक र सञ्चारको पहुँचलाई उनले गणतन्त्रका महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरेका छन् ।

यद्यपि परिवर्तनको गति अपेक्षाअनुसार तीव्र हुन नसकेको स्वीकार गर्दै उनले लोकतान्त्रिक प्रणालीभित्रै असन्तुष्टिको वैधानिक सम्बोधन सम्भव हुने बताएका छन् । “व्यवस्थाको रक्षा गर्न सकिए मात्र जनताले अवस्था परिवर्तन गर्न पाउँछन्,” उनले भनेका छन् ।

पुर्व प्रधानमन्त्री ओलीले संविधान, संसद, न्यायपालिका र स्वतन्त्र प्रेसको संरक्षणलाई गणतन्त्रको मूल आधार भन्दै लोकतान्त्रिक संस्थामाथि अविश्वास फैलाउने र भावनात्मक उत्तेजना सिर्जना गर्ने प्रवृत्तिप्रति सचेत रहन आग्रह गरेका छन् ।

“लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नारा बीचको भिन्नता समाजले जीवन भोगाइको नतिजाबाट बिस्तारै बुझ्ने गर्छ,” उनले उल्लेख गरेका छन् ।

गणतन्त्र दिवसको अवसरमा उनले लोकतन्त्र प्राप्तिका लागि भएका कठोर संघर्षलाई स्मरण गर्दै लोकतन्त्र कमजोर भए भविष्य कस्तो हुन सक्छ भन्ने विषयमा गम्भीर चिन्तन गर्न सबैलाई आग्रह गरेका छन् ।

पुर्व प्रधानमन्त्री ओलीले अन्त्यमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा गणतन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

Facebook Comments Box
गंगा दाहालको आरोप : परिवारविरुद्ध सामाजिक सञ्जालमार्फत योजनाबद्ध ‘मिडिया ट्रायल’ चलाइयो
२१ घण्टा अगाडि

1.6kViews 197 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की…

TOP
465 Shares