गुमनाम गिडी ताल

जुम्लाको तातोपानी गाउँपालिका– ४ मा अवस्थित गिडी ताल समुद्री सतहदेखि तीन हजार चार सय ८२ मिटर उचाइमा छ । पहाडै–पहाडको खोँचमा रहेको ताल जंगलले ढाकिएको छ । तालमा माछालगायतका जलचर जीवजन्तु भने देखिँदैनन् । यो ताल मानवबस्तीदेखि निकै टाढा पाटन क्षेत्र जहाँ ६ महिना हिउँ जम्नेस्थानमा छ ।

कर्णालीका प्राकृतिक तालमध्ये एक महत्वपूर्ण मानिने यो तालसम्म पुग्ने सडक तथा पदमार्ग नहुँदा प्रचार–प्रसार भएको छैन । गुमनाम यो तालसम्म पहिलोपटक स्थानीय सरकारको टोली पुगेको हो । गुमनाम अवस्थामा रहेको गिडीतालमा सम्भवतः सरकारी टोली पुगेर सम्मेलन गरेको यो पहिलोपटक हो । पर्यटन प्रवद्र्धनका लागि पहिलोपटक सरकारी टोलीले असोज ४, ५ र ६ गते गिडीताल पुगी पर्यटन सम्मेलन सम्पन्न गरेको हो ।

स्थानीय तहको दोस्रो निर्वाचनबाट नयाँ जनप्रतिनिधि आएपछि तातोपानी गाउँपालिका– ४ मा अवस्थित गिडीतालमा गाउँपालिका प्रतिनिधि, पत्रकार, राजनीतिक दलका प्रतिनिधि, वडा तथा पालिका कर्मचारी र स्थानीयको टोली पुगेको हो । यो तालको लम्बाइ, चौडाइ र गहिराइ भने नापजाँच हुन सकेको छैन । तालको गहिराई नाप्न तत्काल असम्भव छ । लम्बाइ र चौडाइको नापजाँच गर्न प्राविधिक टोली पुगे पनि ताल वरिपरि जान मिल्ने पदमार्ग तथा गोरेटो बाटोसमेत नहुँदा नापजाँच भएन ।

ताल निकै नीलो र गहिरो छ । ‘भूत’ लाग्छ भन्ने स्थानीय अन्धविश्वासका कारण पनि ताल आजसम्म ओझेल परेको देखिन्छ । तातोपानी गाउँपालिका वडा नम्बर ४ को पहलमा ताल संरक्षणको सुरुवात भएको छ । अहिलेसम्म पर्यटकका लागि भनी त्यहाँ कुनै पूर्वाधार निर्माण भएका छैनन् ।

भूगोलविद् स्वर्गीय डा. हर्क गुरुङले वि.सं. ०३०/०३१ सालतिर सो तालसम्म जाने प्रयास गरेका थिए । तर, पदमार्गसमेत नहुँदा उनी त्यहाँ पुग्न नसकेको स्थानीय दुर्गाप्रसाद पाण्डे बताउँछन् । त्यसयता तालमा आजसम्म कुनै पनि सरकारी निकायको टोली पुगेको थिएन । त्यहाँ पुग्ने बाटो र बीचमा वास बस्ने ठाउँ नहुँदा एकाध मानिस जडीबुटी खोज्न र सिकार खेल्न गए पनि अरू मानिस आजसम्म जान सकेका छैनन् ।

करिब चार–पाँच दिनको चिसो, उकालो र पाटन क्षेत्रको यात्रा पार गरेपछि मात्रै त्यहाँ पुगिन्छ । त्यहाँ पुग्न बन्दोबस्तीका साथ जानुपर्छ । ब्लडप्रेसर, दमलगायतका दीर्घरोगीहरूलाई हाई अल्टिच्युड लाग्ने खतरा हुने भएकाले उनीहरूले यात्रापूर्व नै ध्यान पुर्‍याउनुपर्ने देखिन्छ । हिउँदको ६ महिना हिउँ जम्ने भएकाले त्यो तालमा बर्खायाममा मात्रै यात्रा गर्न मिल्छ ।

प्रकृतिको वरदान गिडी ताल आफैँमा अद्भुत छ । त्यो तालमा पानी पश्चिमतिरबाट बगेर आउँछ । तालबाट बगेर जाने पानी गिडी खोलामा मिसिन्छ । तालबाटै खोलाको नामाकारण भएको ठानिन्छ । जो गिडी खोला जुम्लाका कैयौँ ठाउँ छिचोल्दै तिला नदीमा पुगेर मिसिन्छ । त्यो तालबाट बगेर आएको पानी किसानका खेतसम्म पुग्छ ।

गिडी तालआसपास बजेडी, लसुनवारी, ठाकुरज्यू, विष्टज्यू, नाना हांक, ठूला हांक, दुनी, पुनाली, धप्के, धौलीगाड, हणन्या, गुइया दुला, भुसी, पत्यौडलगायतका दुई दर्जन पाटन छन् । यो तालको छेउछाउमा ठाकुरज्यू दह, विष्टज्यू दह, नदै दह, शंख, पाले दह, राक्षस दह, खानी दह, ढाण दह, लडे दह, घोडापाइला दह, जोगिनी दहजस्ता दर्जनौँ अन्य ससाना दह समेत छन् ।

 प्रकृतिको बरदान गिडी ताल आफैँमा अद्भूत छ । त्यो तालमा पानी पश्चिमतिरबाट बगेर आउँछ । तालबाट बगेर जाने पानी गिडी खोलामा मिसिन्छ । तालबाटै खोलाको नामाकरण भएको ठानिन्छ । गिडीखोला जुम्लाका कैयौँ ठाउँ छिचोल्दै तिला नदीमा पुगेर मिसिन्छ ।

स्थानीय पाका मानिसहरूका भनाइअनुसार धेरै पहिले गाउँलेहरू त्यहाँ सिकार खेल्न पुगेका थिए । दहको किनारमा पातपतिंगर भएकाले उनीहरू त्यहीँ वास बसे । भोजपत्रलगायतका ठूला काठ जम्मा गरेर भात पकाए । आफू बसेको मुनितिर दह र बरफ जमेको छ भन्ने हेक्का उनीहरूलाई भएन । आगोले उक्त भाग तात्दै जाँदा आगो वरिपर भएका सबै सिकारी त्यही डुबेर मरे । त्यसपछि त्यहाँ मान्छे जान छोडे ।

गिडी ताल क्षेत्रमा रहेका दर्जनौँ पाटन, रमणीय दह, पवित्र धार्मिकस्थल, जीवनबुटीका रूपमा रहेका जडीबुटी, वनस्पति, जनावर तथा पंक्षी आदिका बारेमा चर्चा गरिनु आवश्यक छ । तालको संरक्षण गरी पर्यटकीयस्थल बनाउने वडाध्यक्ष अमरबहादुर रोकाया बताउँछन् । उनी भन्छन्,‘यो ताल ओझेलमा परेकाले संरक्षणका लागि वडाले पहल गरेको हो ।’ गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंसहितको ७५ सदस्यीय टोली तालको अवलोकन गर्न त्यहाँ पुगेको थियो । पालिका अध्यक्ष चौलागाईं भन्छन्, ‘प्राविधिक टोलीसहित हामी ताल अवलोकन गर्न पुग्यौँ । तालको लम्बाइ, गहिराइ र चौडाइ नाप्ने योजना थियो । तर, गोरेटो बाटो पनि नभएकाले यथार्थ विवरण ल्याउन सकिएन ।’

गिडी दहआसपास झन्डै दुई दर्जन विभिन्न प्रजातिका वन्यजन्तु र लोपोन्मुख पन्छी पाइन्छन् । कस्तुरी, रेडपान्डा, घोरल, थार, बाघ, भालु, रतुवाजस्ता जनावर र डाँफे, कालिज, फग्रास, ढुकुरजस्ता पंक्षीसमेत यसै क्षेत्रमा पाइन्छन् । यार्चागुम्बा, जटामसी, पाँचऔँले, खिरौलो, पदमचाल, भूतकेश, सिलाजित जस्ता सयौँ प्रकारका जडीबुटी पनि पाइन्छन् ।

करिब चार–पाँच दिनको चिसो, उकालो र पाटन क्षेत्रको यात्रा पार गरेपछि मात्रै त्यहाँ पुगिन्छ । त्यहाँ पुग्न बन्दोबस्तीका साथ जानुपर्छ । ब्लडप्रेसर, दमलगायतका दीर्घरोगीहरूलाई हाई अल्टिच्युड लाग्ने खतरा हुने भएकाले उनीहरूले यात्रापूर्व नै ध्यान पुर्‍याउनुपर्ने देखिन्छ । हिउँदको ६ महिना हिउँ जम्ने भएकाले त्यो तालमा बर्खायाममा मात्रै यात्रा गर्न मिल्छ ।नयाँ पत्रीका बाट

Facebook Comments Box
TOP
Shares