

उपचारको बहानामा होटलमा मौजमस्ती : कैदीलाई बियर, महिला र होटल बसाइको सुविधा दिने दुई प्रहरी बर्खास्त
काठमाडौं । केन्द्रीय कारागार सुन्धाराबाट उपचारका लागि अस्पताल लगिएको एक कैदी अस्पताल पुग्नुको सट्टा होटलमा बसेर बियर पिउने, मासु खाने र महिलासँग समय बिताएको घटना सार्वजनिक भएपछि प्रहरी संगठनभित्रै तरंग उत्पन्न भएको छ। घटनामा संलग्न दुई प्रहरी कर्मचारीलाई सेवाबाट हटाउने निर्णय गरिएको छ।
ठगी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका अनुप भण्डारीलाई उपचारका लागि अस्पताल लैजान अनुमति दिइएको थियो। तर प्रहरीको आन्तरिक छानबिनबाट उनी अस्पताल नपुगी सामाखुसीस्थित होटल दिपसागरमा पुगेको र त्यहाँ करिब तीन घण्टा बिताएको तथ्य खुलेको हो।
प्राप्त विवरणअनुसार जेठ १ गते ढाडसम्बन्धी समस्याको उपचारका लागि भण्डारीलाई सामाखुसीस्थित विनायक अस्पताल तथा प्रसूति गृह लगिएको भनिए पनि उनी अस्पतालको सट्टा होटल पुगेका थिए। छानबिनका क्रममा होटलको कोठा नम्बर ५०२ मा उनले बियर सेवन गरेको, मासु खाएको तथा एक महिलासँग समय बिताएको तथ्य फेला परेको छ।
घटनाका बेला सुरक्षार्थ खटिएका अनाश्रित गुल्म जगन्नाथदेवलका प्रहरी सहायक हवल्दार होमबहादुर कुँवर र प्रहरी जवान टेकबहादुर विक पनि उनीसँगै रहेको अनुसन्धानबाट खुलेको छ। उनीहरूले सरकारी सवारी साधन र हातहतियारसहित कैदीलाई होटल पुर्याएका मात्र होइन, लगाइएको हत्कडीसमेत खोलेर स्वतन्त्र रूपमा बस्न दिएका थिए।
घटनाको जानकारी बाहिरिएपछि उपत्यका प्रहरी कार्यालय रानीपोखरीले प्रहरी उपरीक्षक नरहरि रेग्मीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिले तयार पारेको प्रतिवेदन उपत्यका प्रहरी प्रमुख एआईजी ईश्वर कार्कीसमक्ष बुझाएपछि सुरक्षामा गम्भीर लापरबाही भएको निष्कर्ष निकालिएको स्रोतले जनाएको छ।
समितिको सिफारिसका आधारमा प्रहरी सहायक हवल्दार कुँवर र जवान विकलाई प्रहरी सेवाबाट हटाउने निर्णय गरिएको बताइएको छ। यद्यपि उपत्यका प्रहरी कार्यालयले यस विषयमा औपचारिक धारणा सार्वजनिक गरेको छैन।
छानबिनका क्रममा दुवै प्रहरी कर्मचारीले आफ्नो गल्ती स्वीकार गरेका छन्। उनीहरूको बयानअनुसार अस्पतालका चिकित्सक अपराह्न ५ बजे मात्र आउने जानकारी पाएपछि केही समय क्यान्टिनमा बसेर पछि कैदीलाई होटल लगिएको थियो। होटलमा हत्कडी खोलेर मदिरा सेवन गर्न दिएको तथा महिलासँग बस्न दिएको तथ्यसमेत उनीहरूले स्वीकार गरेका छन्।
घटनाले केन्द्रीय कारागार सुन्धाराको सुरक्षा व्यवस्थामाथि समेत गम्भीर प्रश्न उठाएको छ। कारागार प्रशासनले आवश्यक सुरक्षा निर्देशन र ब्रिफिङ दिएर कैदीलाई पठाइएको दाबी गरे पनि अस्पताल लैजाने नाममा होटल पुर्याइएको घटनाले निगरानी प्रणालीको प्रभावकारितामाथि प्रश्न खडा गरेको छ।
प्रहरी नियमावली २०७१ अनुसार उपचारका लागि अस्पताल पठाइएका कैदीलाई तोकिएको स्थानबाहेक अन्यत्र लैजान पाइँदैन। फरार हुने जोखिम, सुरक्षा संवेदनशीलता र कानुनी उत्तरदायित्वलाई ध्यानमा राख्दै यस्तो व्यवस्था गरिएको भए पनि यस घटनामा नियमावलीका आधारभूत प्रावधान नै उल्लङ्घन भएको देखिएको छ।
घटनापछि कारागारको सुरक्षा कमाण्ड सम्हालिरहेका डीएसपी शैलेश न्यौपानेको भूमिकामाथि पनि चर्चा सुरु भएको छ। यद्यपि छानबिन प्रतिवेदनमा उनको जिम्मेवारीबारे कुनै टिप्पणी गरिएको छैन।
सुरक्षा विज्ञहरूका अनुसार यो घटना केवल दुई प्रहरी कर्मचारीको व्यक्तिगत कमजोरी मात्र नभई समग्र निगरानी प्रणालीको कमजोरीको संकेत हो। अस्पताल पठाइएको कैदी होटलसम्म कसरी पुग्यो, होटलमा तीन घण्टा बिताउँदा उच्च अधिकारीहरूलाई जानकारी थियो वा थिएन, र होटलमा महिलाको प्रवेश कसरी सम्भव भयो भन्ने प्रश्न अझै अनुत्तरित छन्।
सामान्य कैदीले यस्तो सुविधा पाउन नसक्ने भन्दै घटनामा प्रभाव, पहुँच वा आर्थिक चलखेलको कोणबाट समेत अनुसन्धान हुनुपर्ने माग उठ्न थालेको छ।
उपचारका नाममा कारागारबाट बाहिरिएको एक कैदी होटलमा बसेर मदिरा सेवन गर्ने, महिलासँग समय बिताउने र त्यसमा सुरक्षाकर्मी नै संलग्न देखिनु नेपालको कारागार तथा प्रहरी सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाउने घटना बनेको छ। यसलाई केवल अनुशासनहीनता मात्र नभई कानुनी शासन र राज्य संयन्त्रको विश्वसनीयतामाथिको चुनौतीका रूपमा हेरिएको छ।
समाज
थप सामाग्री-
डीआईजी सरुवा किन रोकियो ? गृह मन्त्रालयको मौनताबीच प्रहरी संगठनमा बढ्दै प्रश्न र असन्तुष्टि
-
पदोन्नति भएका ४४ प्रहरी अधिकृतलाई आईजीपी कार्कीद्वारा दर्ज्यानी चिन्ह सुशोभन, बढ्यो जिम्मेवारी
-
सरकारी निर्णयविरुद्ध पत्रकार महासङ्घ आक्रामक, दबाबमूलक आन्दोलनको घोषणा
-
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको नेतृत्वमा एसएसपी सुरेश काफ्ले, विवादपछि शान्तिराज कोइरालाको सरुवा बदर
-
एसएसपी रमेश थापाको काठमाडौं परिसर नेतृत्व अवधि सम्पन्न, प्रहरी प्रधान कार्यालयमा सरुवा
एआईजी हिमालय कुमार श्रेष्ठद्वारा नेपाल प्रहरी स्कुल शान्तिपुर, चितवनको निरीक्षण तथा अन्तरक्रिया सम्पन्न
९ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter चितवन । नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग प्रमुख एआईजी हिमालय…



