काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको नेतृत्वमा एसएसपी सुरेश काफ्ले, विवादपछि शान्तिराज कोइरालाको सरुवा बदर

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेश काफ्ले ले पाएका छन्। ट्राफिक प्रमुख नियुक्तिको विषय विवादमा परेपछि नेपाल प्रहरीले नयाँ निर्णय गर्दै काफ्लेलाई काजमा उपत्यका ट्राफिक प्रहरी कार्यालय पठाएको हो।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार यसअघि ट्राफिक प्रमुखका रूपमा सरुवा गरिएका एसएसपी शान्तिराज कोइरालालाई प्रहरी प्रधान कार्यालयमा तानेर त्यहाँ कार्यरत एसएसपी काफ्लेलाई उपत्यका ट्राफिक प्रहरी कार्यालयको नेतृत्व सुम्पिएको छ।

जेठ १८ गते भएको ३३ जना एसएसपीको सरुवामा काफ्ले समावेश भएका थिएनन्। उक्त सरुवामार्फत कोइरालालाई नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्ज (हाल जनकपुर) बाट काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सरुवा गरिएको थियो। तर कोइरालाले यसअघि पनि ट्राफिक कार्यालयको नेतृत्व सम्हालिसकेकाले पुनः सोही जिम्मेवारी दिइएको भन्दै प्रहरी संगठनभित्र तथा सरोकारवाला तहबाट प्रश्न उठेको थियो।

नियुक्तिपछि बढेको असन्तुष्टि र विरोधका कारण प्रहरी नेतृत्वले निर्णय पुनरावलोकन गर्दै कोइरालाको सरुवा परिवर्तन गरेको स्रोतको दाबी छ।

यसअघि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख रहेका एसएसपी नवराज अधिकारीलाई भने साइबर ब्युरो, भोटाहिटी मा सरुवा गरिएको छ।

प्रहरी संगठनभित्र नेतृत्व व्यवस्थापन र जिम्मेवारी बाँडफाँटलाई लिएर चर्चा भइरहेका बेला ट्राफिक प्रहरीको नेतृत्वमा भएको यो परिवर्तनलाई अर्थपूर्ण रूपमा हेरिएको छ। राजधानीको ट्राफिक व्यवस्थापन, सडक अनुशासन तथा प्रविधिमैत्री सेवा विस्तारका चुनौतीबीच एसएसपी काफ्लेको कार्यकाललाई विशेष चासोका साथ हेरिने अपेक्षा गरिएको छ।

Facebook Comments Box
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयद्वारा सचिव कर्ण पक्राउ, केही घण्टापछि रिहा
८ घण्टा अगाडि

1.4kViews 164 Shares Share on Facebook Share on Twitter काठमाडौं । अवकाशको मुखमा रहेका सचिव कृष्णहरि पुष्कर कर्णलाई प्रहरीले पक्राउ…

TOP
141 Shares