काठमाडौं उपत्यकामा १६ नयाँ विद्युतीय बस सञ्चालनमा, चक्रपथमा नियमित सेवा सुरु

महानगर यातायात प्रालिले सार्वजनिक यातायात सेवा विस्तार गर्दै काठमाडौं उपत्यकामा १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ। बुधबारदेखि यी बसहरूले चक्रपथ क्षेत्रमा नियमित सेवा दिन थालेका हुन्।

 

कम्पनीका अनुसार नयाँ विद्युतीय बसहरूले सार्वजनिक यातायातलाई आधुनिक, सुविधासम्पन्न र वातावरणमैत्री बनाउने अपेक्षा गरिएको छ। सञ्चालन खर्च कम हुने र व्यवस्थापन सहज हुने भएकाले डिजेल बसको तुलनामा यी बसहरू प्रभावकारी देखिएको कम्पनीको दाबी छ।

 

चीनबाट आयात गरिएका यी बसहरू ३३ सिट क्षमताका छन् भने १४४ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको छ। पूर्ण चार्जमा करिब २०० किलोमिटर दूरी तय गर्न सक्ने क्षमता रहेको जनाइएको छ।

 

कम्पनीले प्रत्येक बसको मूल्य करिब १ करोड ३१ लाख ९० हजार रुपैयाँ रहेको जनाएको छ। हाल महानगर यातायातले १४० भन्दा बढी सवारीसाधनमार्फत सेवा दिइरहेको छ, जसमा विद्युतीय बसहरूको संख्या क्रमशः बढाइँदै लगिएको छ।

 

 

Facebook Comments Box
TOP
405 Shares