एपीएफ स्कुलकी लेखा अधिकृतमाथि वित्तीय अनियमितताको आरोप, छानबिन सुरु

काठमाडौं । कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलकी लेखा अधिकृत तथा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) कल्पना गुरुङमाथि विद्यालयको खातामा जम्मा हुनुपर्ने रकम व्यक्तिगत बैंक खातामा राखेको आरोप लागेपछि सशस्त्र प्रहरी प्रधान कार्यालयले छानबिन प्रक्रिया अघि बढाएको छ।

स्रोतका अनुसार गुरुङले विद्यालयमा उठ्ने स्टेशनरी तथा शैक्षिक शुल्कबापतको रकम विद्यालयको आधिकारिक खातामा जम्मा गर्नुको सट्टा आफ्नो व्यक्तिगत खातामा राख्दै आएको भन्दै उजुरी परेको छ। उजुरीमा करिब चार वर्षको अवधिमा झण्डै साढे ४ करोड रुपैयाँ व्यक्तिगत खातामा प्रवाह गरिएको दाबी गरिएको छ।

उजुरीपछि सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयले प्रारम्भिक सोधपुछसमेत गरेको स्रोतले जनाएको छ। तर, आरोपबारे औपचारिक निष्कर्ष भने हालसम्म सार्वजनिक भएको छैन।

ओखलढुंगाकी गुरुङ विगत साढे ६ वर्षदेखि एपीएफ स्कुलमा लेखा अधिकृतका रूपमा कार्यरत छिन्। सशस्त्र प्रहरी संगठनमा लेखा अधिकृतहरूको नियमित सरुवा हुने अभ्यास रहे पनि उनी लामो समयदेखि एउटै कार्यालयमा कार्यरत रहनु पनि प्रश्नको विषय बनेको छ। सई पदमा रहँदा लेखा जिम्मेवारी सम्हाल्न थालेकी गुरुङ हाल निरीक्षक पदमा बढुवा भइसकेकी छन्, तर जिम्मेवारी भने यथावत् रहेको बताइएको छ।

विद्यालयका कमाण्डेन्ट एसपी रामजङ्ग पाण्डेले भने विद्यालयको सम्पूर्ण आर्थिक कारोबार आधिकारिक खातामार्फत नै हुने दाबी गरेका छन्। उनले गुरुङ विद्यालयमा कार्यरत रहेको पुष्टि गरे पनि व्यक्तिगत खातामा रकम जम्मा भएको विषयमा आफूलाई स्पष्ट जानकारी नभएको प्रतिक्रिया दिएका छन्।

यसअघि पनि एपीएफ स्कुलमा राशन तथा कल्याणकारी कोषसँग सम्बन्धित आर्थिक अनियमितताका उजुरीहरू परेको उल्लेख छ। ती घटनामा कानुन निर्देशनालयले बयान लिएको भए पनि ठोस कारबाही भने नभएको बताइन्छ।

हाल प्रधान कार्यालयले उजुरीमाथि विस्तृत छानबिन अघि बढाइरहेको छ। आरोप पुष्टि भए संगठनभित्रको आर्थिक अनुशासन र वित्तीय पारदर्शितामाथि गम्भीर प्रश्न उठ्ने देखिएको छ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.0kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
416 Shares