ठमेलमा अनैतिक गतिविधिविरुद्ध प्रहरीको कडा एक्सन, ३२ जना पक्राउ

काठमाडौं । पर्यटकीय राजधानीका रूपमा परिचित ठमेल क्षेत्रमा सार्वजनिक शान्ति, सुरक्षा तथा पर्यटनमै नकारात्मक असर पार्ने गतिविधिविरुद्ध प्रहरीले विशेष अभियान सञ्चालन गर्दै ३२ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ठमेलको नरसिंहचोक आसपासका सार्वजनिक स्थानमा विदेशी तथा स्वदेशी पर्यटक तथा सर्वसाधारणलाई लक्षित गरी अनावश्यक रूपमा बाटो छेक्ने, अश्लील क्रियाकलापका लागि मोलमोलाइ गर्ने तथा दुःख–हैरानी दिने गतिविधि बढेको सूचनापछि प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले मंगलबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले जनाएको अनुसार नियन्त्रणमा लिने क्रममा केही व्यक्तिले प्रहरीको सम्झाइबुझाइलाई अवज्ञा गर्दै सुरक्षाकर्मीमाथि नै जाइलाग्ने र अभद्र व्यवहार गर्ने प्रयास गरेका थिए। त्यसपछि उनीहरूलाई कानुनी प्रक्रियाअन्तर्गत नियन्त्रणमा लिइएको प्रहरीले स्पष्ट पारेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार पक्राउ परेका ३२ जनाविरुद्ध ‘अभद्र व्यवहार’ सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

पर्यटकहरूको प्रमुख गन्तव्य तथा मुलुकको पर्यटन क्षेत्रको महत्वपूर्ण केन्द्र मानिने ठमेलमा पछिल्लो समय सार्वजनिक स्थानमा हुने अनैतिक, अवाञ्छित तथा पर्यटकलाई असहज बनाउने गतिविधि नियन्त्रण गर्न प्रहरीले निगरानी र कारबाहीलाई तीव्र बनाएको जनाएको छ।

प्रहरीले सार्वजनिक मर्यादा, पर्यटकमैत्री वातावरण तथा शान्ति सुरक्षामा खलल पुर्‍याउने जो–कोहीमाथि कानुनअनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ।

Facebook Comments Box
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
१ दिन अगाडि

2.2kViews 326 Shares Share on Facebook Share on Twitter काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट…

TOP
236 Shares