झोला विवादबारे प्रधानमन्त्री पत्नी सबिना काफ्लेको स्पष्टीकरण : ‘मेरो चरित्रहत्या गर्न खोजियो’

काठमाडौं । प्रधानमन्त्री की पत्नी ले सामाजिक सञ्जालमा भाइरल बनेको विमानस्थलको तस्बिरबारे पहिलो पटक सार्वजनिक प्रतिक्रिया दिँदै आफूविरुद्ध आधारहीन आरोप र चरित्रहत्याको प्रयास भएको बताएकी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी भएर चितवनबाट काठमाडौं फर्किने क्रममा खिचिएको पारिवारिक तस्बिरलाई लिएर सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा विभिन्न टिप्पणी भएपछि काफ्लेले बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।

काफ्लेले विवादको केन्द्रमा रहेको झोला आफ्नो नभई सुरक्षाकर्मी (पिएसओ) को निजी झोला रहेको स्पष्ट पार्दै तथ्य नबुझी गरिएको टिप्पणी र समाचारले आफ्नो प्रतिष्ठामा आघात पुगेको बताइन्।

“जुन सुरक्षाकर्मीले त्यो ब्याग बोक्नुभएको छ, त्यो ब्याग उहाँको आफ्नै निजी हो। तर यहाँ अनेक शंका र अड्कलबाजीका आधारमा मेरो चरित्रहत्या गर्न खोजिएको छ,” काफ्लेले आफ्नो वक्तव्यमा उल्लेख गरेकी छन्।

प्रधानमन्त्री साह महाधिवेशनबीच पत्नी सबिना काफ्ले र छोरीसँग बुद्ध एअरको उडानमार्फत काठमाडौं फर्किएका थिए। विमानस्थलमा खिचिएको तस्बिरमा प्रधानमन्त्रीले छोरी बोकेको तथा काफ्लेको हातमा मोबाइल मात्र देखिएको थियो। सोही क्रममा सुरक्षाकर्मीले झोला बोकेको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उक्त झोला काफ्लेको भएको दाबी गर्दै आलोचना गरिएको थियो।

काफ्लेले केही सञ्चारमाध्यमले सत्यतथ्य पुष्टि नगरी समाचार प्रकाशन तथा प्रसारण गरेको आरोप लगाउँदै यस्ता गतिविधिले महिलामाथि हुने चरित्रहत्यालाई थप प्रोत्साहन दिएको बताइन्। विगत केही समयदेखि आफूलाई पुराना राजनीतिक नेताहरूका पत्नीहरूसँग तुलना गर्दै अनावश्यक टिप्पणी गरिँदै आएको उल्लेख गर्दै उनले यसअघि मौन बसे पनि यसपटक सार्वजनिक रूपमा प्रतिक्रिया दिन बाध्य भएको स्पष्ट पारेकी छन्।

उनले नयाँ नेतृत्व आए पनि समाज र सञ्चारमाध्यमको दृष्टिकोणमा अपेक्षित परिवर्तन नआएको गुनासो गर्दै पत्रकारितामा तथ्य पुष्टि गर्ने दायित्व अझ महत्वपूर्ण रहेको बताइन्।

प्रेस काउन्सिल वा कानुनी प्रक्रियामा जान सकिने अवस्था रहे पनि आफूले आम नागरिकको हैसियतमा मात्र आफ्नो धारणा सार्वजनिक गरेको उल्लेख गर्दै काफ्लेले सामाजिक सञ्जाल प्रयोगकर्ता र सञ्चारमाध्यम दुवैले यस्ता घटनाबाट पाठ सिक्नुपर्ने आवश्यकता औंल्याएकी छन्।

“यो सानो विषय हो, तर यस्ता साना विषयले पनि व्यक्तिको प्रतिष्ठामा गम्भीर असर पार्न सक्छ। त्यसैले तथ्यमा आधारित समाचार र जिम्मेवार अभिव्यक्ति आवश्यक छ,” उनले भनिन्।

काफ्लेको यो प्रतिक्रिया सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा फैलिएका दाबी र त्यसको सत्यताबारे नयाँ बहस सुरु भएको छ। सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताको जिम्मेवारी, तथ्य परीक्षणको आवश्यकता तथा सार्वजनिक व्यक्तिको परिवारमाथि गरिने टिप्पणीको सीमाबारे पनि प्रश्न उठ्न थालेका छन्।

Facebook Comments Box
TOP
498 Shares