कर्णाली तर्न डुंगाकै भर

अधिकांश टीकापुरबासीको खेत छ बर्दियाको दौलतपुरमा । खेतीपाती गर्नदेखि अन्नबाली भित्र्याउन टीकापुरबासीहरु दौलतपुर पुग्नुपर्छ । दौलतपुरबासी पनि किनमेलको लागि टीकापुर पुग्नै पर्छ ।  सुदूरपश्चिम प्रदेशको टीकापुर नगरपालिका र लुम्बिनी प्रदेशको राजापुर नगरपालिका जोड्ने दौलतपुर घाटमा पुल नभएकै कारण वर्षौंदेखि दुबै ठाउँका स्थानीय जोखिमपूर्ण डुंगाबाट वारपार गर्दै आएका हुन् । हिउँदयाममा नदीमा पानीको बहाव केही कम हुने भए पनि बर्खामा उर्लदो भेलमा भने स्थानीय ज्यानकै बाजी थापेर आउजाउ गर्छन् ।         कैलालीको टीकापुर बजार राजापुर नगरपालिकाको दौलतपुर, टिहुनीलगायतका दर्जनौं गाउँको मुख्य बजार हो । दौलतपुर घाट भएर दैनिक हजार बढी स्थानीय डुंगाबाट बजारसम्म पुग्छन् । कर्णाली नदीले दुबै प्रदेश र दुबै जिल्लाको सीमाना छुट्याएको भए पनि यहाँका स्थानीयहरुको सम्बन्ध घनिष्ट छ । टीकापुरका सयौं बासिन्दाको खेत राजापुरमा छ भने राजापुरका लागि टीकापुर नजिकको व्यापारिक केन्द्र हो । ‘हाम्रो खाने खेत नै राजापुरको दौतलपुरमा छ, धान ल्याउनेदेखि खेति लगाउनसम्म दिनमै तीन-चार पटकसम्म ओहोरोदोहोरो गर्नुपर्छ’टीकापुरका खेम धमालाले भने, ‘ज्यान जोखिममै राखेर जानुपर्छ, समय पनि धेरै लाग्छ ।’ नदीमा सञ्चालन हुँदै आएका डुंगा (स्टिमर)बाट स्थानीय आवतजावत गर्छन् ।बर्दियाको दौलतपुर उब्जनीका लागि उर्वर भूमि हो । टीकापुरमा बसोबास गर्नेहरू पनि दौलतपुरमै खेतीपाती गर्छन् । दौलतपुरमा उब्जाएको खाद्यान्न बाली डुंगाबाटै टीकापुर भित्र्याउँछन् । कर्णाली नदीको तीव्र बहावका कारण बेला बेलामा दुर्घटना समेत हुने गरेको छ ।  स्थानीयले लामो समयदेखि दौलतपुर घाटमा पक्की पुलको माग गर्दै आएका छन् । उनीहरुले संघर्ष समिति समेत गठन गरेका थिए । समितिका सदस्य भरत साउँदले पुलका लागि धेरै निकायमा धाए पनि सम्बोधन हुन नसकेको बताए । यो खबर आजको अन्नपूर्णपोस्टमा छ ।

Facebook Comments Box
TOP
Shares