

वर्षायाममा बिजुलीको महसुल घटाउने सरकारको तयारी, ‘सिजनल ट्यारिफ’ लागू गर्ने प्रस्ताव

काठमाडौं, ३ भदौ । सरकारले वर्षायाममा बढ्ने विद्युत् उत्पादनलाई आन्तरिक रूपमा बढी खपत गराउने उद्देश्यले बिजुलीको महसुल घटाउने तयारी अघि बढाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् महसुल पुनरावलोकनका लागि गठन गरेको समितिमार्फत उपभोक्ता तथा उद्योगलाई वर्षायाममा सहुलियत दरमा विद्युत् उपलब्ध गराउने विषयमा अध्ययन तथा छलफल गरिरहेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा गत साउन १३ गते महसुल पुनरावलोकनसम्बन्धी समिति गठन गरिएको थियो। समितिले वर्षायाममा उत्पादन बढ्दा पर्याप्त आन्तरिक खपत हुन नसकी विद्युत् खेर जाने अवस्थालाई ध्यानमा राखेर महसुल घटाउने सम्भावनाबारे अध्ययन गरिरहेको छ।
वर्षायाममा सस्तो बिजुली
विद्युत्को खपत बढाउन निश्चित अवधिका लागि छुट्टै ‘सिजनल ट्यारिफ’ लागू गर्ने प्रस्तावमा मन्त्रालयमा छलफल भइरहेको छ। यस्तो व्यवस्था लागू भए वर्षायाममा घरायसी उपभोक्ता तथा उद्योगले तुलनात्मक रूपमा सस्तो दरमा विद्युत् प्रयोग गर्न पाउनेछन्।
समितिका संयोजक तथा नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार वर्षायाममा विद्युत् उत्पादन बढ्ने भएकाले सोही समयमा विद्युत्को मूल्य घटाएर खपत बढाउने विकल्पमा छलफल भइरहेको छ।
उद्योगलाई पनि सहुलियत
प्रस्तावित योजनामा उद्योगलाई समेत सहुलियत दिने तयारी छ। सस्तो विद्युत् उपलब्ध हुँदा उद्योगको उत्पादन लागत घट्ने र त्यसको लाभ वस्तु तथा सेवाको मूल्यमा समेत उपभोक्तासम्म पुग्न सक्ने अपेक्षा गरिएको छ।
यद्यपि महसुल कति घटाउने र कुन अवधिका लागि सिजनल ट्यारिफ लागू गर्ने भन्ने विषयमा अन्तिम निर्णय भइसकेको छैन।
समितिले अध्ययन तथा छलफलपछि आवश्यक सुझाव सरकारलाई दिनेछ। त्यसपछि सम्बन्धित निकायको निर्णयका आधारमा नयाँ महसुल दर तथा सिजनल ट्यारिफको संरचना तय हुनेछ।
समाज
थप सामाग्री
देशभर मनसुनी गतिविधि सक्रिय, छ प्रदेशमा भारी वर्षाको सम्भावना
१ दिन अगाडि
1.3kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकाले आगामी केही दिन…





