

१०० दिनमै ‘निरंकुशताको गन्ध’ आएको महतोको आरोप, संघीयता कमजोर पार्ने प्रयास नगर्न चेतावनी
काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले सरकारको १०० दिने कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै जनताको धैर्यको बाँध टुट्नुअघि नै सरकार सचिनुपर्ने चेतावनी दिएका छन्।
सार्वजनिक वक्तव्य जारी गर्दै महतोले सरकारले न्याय, समावेशिता र संवेदनशीलताभन्दा पुरानै निरंकुश सोचलाई निरन्तरता दिएको आरोप लगाए। उनले सरकारलाई असंवेदनशील व्यवहार, नियुक्तिमा देखिएको असमावेशिता तथा अधिनायकवादी कार्यशैली तत्काल सच्याउन आग्रह गरे।
महतोका अनुसार हालैको जनादेश केवल सरकार परिवर्तनका लागि नभई दशकौँदेखि सञ्चित जनअसन्तुष्टि, पीडा र परिवर्तनको चाहनाको अभिव्यक्ति हो। उनले सय दिनमै सबै अपेक्षा पूरा हुन नसके पनि सरकारको कार्यदिशामा नयाँपनभन्दा “पुरानै निरंकुशताको गन्ध” आएको टिप्पणी गरे।
उनले गरिब बस्तीमा डोजर चलाउने, सीमावर्ती क्षेत्रमा सर्वसाधारणमाथि कठोर व्यवहार गर्ने, समानुपातिक समावेशिताको उपेक्षा गर्दै मेरिटोक्रेसीको नाममा विभेदलाई संस्थागत गर्ने प्रयास भइरहेको आरोप लगाए। साथै, बजेटले बिचौलिया पुँजीवादलाई प्रोत्साहन गरेको, किसान, युवा, महिला र प्रदेशका हितलाई बेवास्ता गरिएको तथा शिक्षा–स्वास्थ्यजस्ता मौलिक अधिकारमा कर लगाउने नीति जनविरोधी भएको दाबी गरे।
महतोले गणेश नेपालीको आत्मदाहको घटनालाई राज्यको मानवीय असंवेदनशीलताको उदाहरण भन्दै सरकार मानवताभन्दा कानुनी प्रक्रियामै सीमित भएको आरोप पनि लगाए।
संविधान संशोधनको सन्दर्भमा उनले संघीयता कमजोर पार्ने प्रयास भइरहेको दाबी गर्दै प्रधानमन्त्रीले मधेश आन्दोलनका शहीद रमेश महतोप्रति श्रद्धाञ्जली अर्पण गर्दै ‘जय मधेश’ र ‘बलियो संघीयता’ बनाउने गरेको प्रतिबद्धता स्मरण गराए। उनले सो प्रतिबद्धता केवल निर्वाचनका लागि गरिएको वाचा थियो कि भन्ने प्रश्न उठाए।
महतोले संघीयता हजारौँ शहीदको बलिदानबाट प्राप्त उपलब्धि भएकाले यसलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए। उनले जनताको विश्वासमाथि धोका भए त्यसको प्रतिवाद हुने चेतावनी दिँदै मधेशी, थारु, लिम्बुवान, मगरात–खसान, दलित, मुस्लिम तथा पिछडावर्गका ऐतिहासिक माग सम्बोधन हुनुपर्ने बताए।
वक्तव्यमा राष्ट्रिय मुक्ति पार्टी नेपालले १०+१ प्रदेश र २४ स्वायत्त क्षेत्रसहित राज्य पुनर्संरचना, केन्द्रीय राजस्वको न्यायोचित बाँडफाँट, समान अवसरको संवैधानिक ग्यारेन्टी, प्रादेशिक भाषामा सरकारी सेवा, समानुपातिक समावेशिता, २०६४ फागुन १४ गतेको ८ बुँदे सम्झौताको कार्यान्वयन, आन्दोलनकारीमाथिका मुद्दा फिर्ता तथा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग दोहोर्याएको छ।
महतोले सभ्यता, स्वशासन र समृद्धिमा आधारित नयाँ राष्ट्रिय पुनर्जागरण आवश्यक रहेको उल्लेख गर्दै सबै लोकतान्त्रिक, पहिचानवादी तथा परिवर्तनकामी शक्तिहरूलाई साझा अभियानमा एकजुट हुन आह्वान गरेका छन्।


समाज
थप सामाग्री-
सदनमा जुहारी खेल्नमै व्यस्त सांसदहरु, देश र जनताका मुद्दा ओझेलमा
-
राज्य संयन्त्रमाथि प्रश्न : प्रधानमन्त्रीको नाममा प्रहरी चलाउने अधिकार कसलाई ?
-
बाढी–पहिरोले पाँच प्रमुख राजमार्ग प्रभावित, जोखिमयुक्त सडकमा यात्रा नगर्न प्रहरीको आग्रह
-
गणेश नेपालीको मृत्यु केवल एउटा परिवारको शोक होइन, हाम्रो राज्य र समाजको असफलताको ऐना हो
-
आखिर हाम्रो समाज कहाँ जाँदैछ ? बाँच्ने आशा हराउँदै गएको देशको पीडादायी चित्र
महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका गणेश नेपालीको शव शिक्षण अस्पतालमा, सहमति नहुँदा परिवारले बुझेनन्
१ दिन अगाडि
1.5kViews 226 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौं महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका मुगुको सोरु गाउँपालिका–१…





