गणेश नेपालीको मृत्यु केवल एउटा परिवारको शोक होइन, हाम्रो राज्य र समाजको असफलताको ऐना हो

मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपाली अब यस संसारमा छैनन्। उनीसँगै एउटा सपना समाप्त भएको छ। एउटा परिवारको भरपर्दो सहारा टुटेको छ। एउटा नाबालिका छोरीको भविष्य अन्योलमा परेको छ। एउटा श्रीमतीले जीवनसाथी गुमाएकी छिन्। वृद्ध बाआमाले आफ्नो बुढेसकालको आधार गुमाएका छन्। एउटी बहिनीले आफ्नो अभिभावकजस्तै दाजु गुमाएकी छिन्।

तर प्रश्न केवल यति मात्र होइन—गणेश नेपाली किन यो अवस्थासम्म पुगे? उनको मृत्युको जिम्मेवारी कसले लिने?

गणेश दुई दाजुभाइमध्ये कान्छा थिए। एक बहिनी पनि छिन्। उनीहरूले गरिबीलाई बाल्यकालदेखि नै नियति बनाएका थिए। मुगुको बाझो र कम उत्पादन हुने जमिनले परिवार पाल्न सकेन। पेट पाल्नकै लागि उनका बाआमा करिब १५–१६ वर्षअघि मुगु छाडेर हुम्ला पुगे। अरूको जग्गा अँधियामा खेती गरेर जीवन धान्न थाले। आफ्नै जन्मभूमिमा पेट नभरिने अवस्था भएपछि उनीहरू विस्थापितजस्तै जीवन बिताउन बाध्य भए।

गणेश र उनका दाइ मदन पनि सानैदेखि गाउँ छाडेर काठमाडौं आए। उनीहरूको सपना विलासिताको थिएन, केवल सम्मानपूर्वक बाँच्ने थियो।

गणेशले कृषि विषयमा जुनियर टेक्निकल असिस्टेन्ट (जेटीए) अध्ययन गरेका थिए। गाउँमै कृषि प्राविधिक बनेर आफ्नै माटोमा सेवा गर्ने, किसानको जीवन बदल्ने र आफ्नो परिवारलाई गरिबीबाट निकाल्ने उनको सपना थियो। तर विडम्बना, त्यो सपना पूरा गर्ने अवसर राज्यले कहिल्यै दिएन।शिक्षा थियो, सीप थियो, काम गर्ने इच्छा थियो। तर रोजगारी थिएन।

अन्ततः परिवार पाल्न ऋण गरेर मोटरसाइकल किन्नुपर्‍यो। त्यही मोटरसाइकल चलाएर दैनिक गुजारा गर्नुपर्‍यो। जीवनसँग संघर्ष गरिरहेका हजारौं युवामध्ये गणेश पनि एक थिए। उनले कुनै विलासिताको खोजी गरेका थिएनन्, केवल आफ्नो परिवारको पेट पाल्ने प्रयास गरेका थिए।आज उनी छैनन्।

अब उनकी श्रीमती विधवा भएकी छिन्। सानी छोरीले बाबुको माया सधैंका लागि गुमाएकी छिन्। वृद्ध बाआमाले आफ्नो सहारा गुमाएका छन्। बहिनीले आफ्नो भविष्यको आधार गुमाएकी छिन्।

तर के हामी केही दिन सामाजिक सञ्जालमा दुःख व्यक्त गरेर फेरि अर्को घटनातर्फ लाग्नेछौं?

गणेश नेपालीको मृत्यु एउटा व्यक्तिको मृत्यु होइन। यो राज्यको नीति, प्रशासनिक संवेदनशीलता, सामाजिक न्याय र अवसरको अभावमाथिको गम्भीर प्रश्न हो। जब एउटा शिक्षित युवा आफ्नो सीप अनुसार काम पाउँदैन, जब गरिब परिवारका सपना ऋणको भारीले थिचिन्छन्, जब नागरिकले सम्मानपूर्वक बाँच्ने आधार भेट्दैनन्, त्यतिबेला यस्ता दुःखद घटनाहरू जन्मिन्छन्।

हामी बारम्बार भन्छौं—युवा विदेश पलायन भए। तर किन भए? गाउँ किन रित्तिए? किन एउटा परिवारले आफ्नो पुर्ख्यौली थातथलो छाडेर अरूको जग्गामा अँधियामा जीवन बिताउनुपर्‍यो? किन कृषि पढेको युवा आफ्नै गाउँमा सेवा गर्न पाएन? यी प्रश्नहरूको उत्तर खोज्ने जिम्मेवारी राज्यको होइन र?

गणेश नेपालीको मृत्युले हामीलाई अझ अर्को कठोर यथार्थ सम्झाएको छ—नेपालमा गरिब हुनु आफैंमा एउटा पीडा हो। त्यो पीडामाथि अन्याय थपिँदा एउटा परिवार पूर्ण रूपमा विखण्डित हुन सक्छ।

आज गणेशको परिवारलाई केवल समवेदना होइन, न्याय चाहिएको छ। उनकी श्रीमती र छोरीलाई सुरक्षित भविष्य चाहिएको छ। वृद्ध बाआमालाई बाँच्ने आधार चाहिएको छ। बहिनीलाई आश्वासन होइन, अवसर चाहिएको छ।

यदि गणेश नेपालीको मृत्युबाट पनि हामीले केही सिकेनौं भने भोलि फेरि अर्को गणेश जन्मिनेछ, अर्को परिवार उजाडिनेछ, अर्को छोरी टुहुरी बन्नेछ, अर्को बाआमा आफ्नो सन्तानको शवअघि रुन बाध्य हुनेछन्।

त्यसैले गणेश नेपालीको मृत्यु एउटा समाचार बनेर मात्र सीमित हुनु हुँदैन। यो राज्यका लागि चेतावनी बन्नुपर्छ, समाजका लागि आत्मसमीक्षाको विषय बन्नुपर्छ र हरेक जिम्मेवार निकायका लागि उत्तरदायित्वको प्रश्न बन्नुपर्छ।

किनकि एउटा सभ्य समाजको मूल्याङ्कन उसले शक्तिशालीलाई कति सम्मान गर्छ भन्नेबाट होइन, गणेश नेपालीजस्ता साधारण नागरिकको जीवनलाई कति सुरक्षित, सम्मानित र आशावादी बनाउन सक्छ भन्नेबाट हुन्छ।

Facebook Comments Box
महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका गणेश नेपालीको शव शिक्षण अस्पतालमा, सहमति नहुँदा परिवारले बुझेनन्
१ दिन अगाडि

1.5kViews 226 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौं महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका मुगुको सोरु गाउँपालिका–१…

TOP
163 Shares