बागमतीको बाढीले कीर्तिपुरको सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा, ५४ जनाको उद्धार

काठमाडौं । अविरल वर्षापछि आएको बागमती नदीको बाढीले काठमाडौंको कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा रहेको राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेको छ। बागमती किनारबाट हटाएर सुरक्षित स्थान भन्दै राखिएका विस्थापितहरू फेरि बाढीको चपेटामा परेका हुन्।

राति नै बाढी होल्डिङ सेन्टरभित्र प्रवेश गरेपछि त्यहाँ रहेका कोठाहरू जलमग्न भएका छन्। डुबानका कारण पीडितहरूको खाद्यान्न, लत्ताकपडा, दैनिक प्रयोगका सामग्री तथा अन्य आवश्यक सामानमा क्षति पुगेको छ। कतिपयले आकस्मिक रूपमा प्रयोग गरिरहेका औषधिसमेत निकाल्न नपाएको गुनासो गरेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीको सूचना प्राप्त भएपछि राति १ः३८ बजे सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त उद्धार टोली परिचालन गरिएको थियो। सशस्त्र प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरीको दंगा नियन्त्रण रेजिमेन्टबाट ३० जना तथा नेपाल प्रहरीका ३० जना गरी ६० सदस्यीय टोली विपद् व्यवस्थापन सामग्रीसहित घटनास्थल पुगेको थियो।

सुरक्षाकर्मीहरू राति २ बजेपछि घटनास्थलमा पुगेर बोटको सहायताले उद्धार सुरु गरेका थिए। होल्डिङ सेन्टरमा रहेका १५४ जनामध्ये ५४ जनालाई सुरक्षित रूपमा उद्धार गरी त्रिभुवन विश्वविद्यालयस्थित स्मृति भवनमा सारिएको प्राधिकरणले जनाएको छ।

त्यस्तै, ६ जना अन्यत्र होस्टलमा बसिरहेका छन् भने बाँकी ९४ जनाले आफ्ना सामान छाडेर जान नमानेपछि सेन्टरभित्रकै पानी नजमेको सुरक्षित स्थानमा बसिरहेका छन्। सुरक्षाकर्मीहरूले बोटको प्रयोग गरी डुबानमा परेका कोठाबाट लत्ताकपडा, सामान र आवश्यक सामग्री सुरक्षित स्थानमा सार्ने काम जारी राखेका छन्।

प्राधिकरणका अनुसार प्रभावित नागरिकका लागि अस्थायी आश्रयस्थलमा तयारी खाना, खानेपानी, खाद्यान्न, स्वास्थ्य सामग्रीलगायत अत्यावश्यक राहतको व्यवस्थापन भइरहेको छ। प्रभावित क्षेत्रको अवस्था अनुगमन गर्दै सम्बन्धित निकायहरू उद्धार तथा राहत कार्यमा सक्रिय रहेको जनाइएको छ।

Facebook Comments Box
गणेश नेपाली प्रकरणपछि महानगर प्रहरीको भूमिकामाथि बहस, बालेनकालीन संरचनादेखि अधिकार विस्तारसम्म प्रश्न
१ दिन अगाडि

1.5kViews 282 Shares Share on Facebook Share on Twitter काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको घटनालाई लिएर प्रतिनिधिसभामा…

TOP
302 Shares