गणेश नेपाली प्रकरणपछि महानगर प्रहरीको भूमिकामाथि बहस, बालेनकालीन संरचनादेखि अधिकार विस्तारसम्म प्रश्न

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको घटनालाई लिएर प्रतिनिधिसभामा प्रश्न उठेपछि महानगर प्रहरीको भूमिका, विगतका निर्णय र काठमाडौं महानगरपालिकाको कार्यशैलीमाथि पुनः बहस सुरु भएको छ।
गृहमन्त्री सुधन गुरुङले संसद्मा जवाफ दिँदै गणेश नेपालीको मोटरसाइकलमा ह्विल लक गर्ने काम ट्राफिक प्रहरीले नभई काठमाडौं महानगरपालिकाको नगर प्रहरीले गरेको दाबी गरे। उनले यससम्बन्धी भिडियो प्रमाण रहेको उल्लेख गर्दै स्थानीय सरकार र प्रशासनको भूमिकामाथि प्रश्न उठाए।
गृहमन्त्री गुरुङले प्रतिपक्षी सांसदहरूलाई लक्षित गर्दै अहिले स्थानीय र प्रदेश सरकारको नेतृत्व कसले गरिरहेको छ भन्ने प्रश्न समेत उठाए। उनले आफूले विगतका सरकारहरूले बनाएका कानुन र नियम कार्यान्वयन मात्र गरेको दाबी गर्दै समस्या सिर्जना गर्ने आधार पुराना नीतिहरू रहेको तर्क गरे।
तर महानगर प्रहरीको अहिलेको संरचना र कार्यशैली विकास हुनुमा काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर तथा हालका प्रधानमन्त्री बालेन्द्र शाहको कार्यकाल महत्वपूर्ण रहेको देखिन्छ।
बालेन आएपछि फेरिएको महानगर प्रहरीको शैली
२०७९ वैशाखमा बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित हुँदा नगर प्रहरी उपरीक्षक धनपति सापकोटा महानगर प्रहरी प्रमुख थिए। तर २०७९ भदौ ६ गते सापकोटालाई हटाएर प्रहरी उपरीक्षक राजु पाण्डेलाई महानगर प्रहरी प्रमुखको जिम्मेवारी दिइयो।
राजु पाण्डे नेतृत्वमा आएपछि महानगर प्रहरीको गतिविधि थप आक्रामक बनेको आलोचना हुन थाल्यो। पाण्डेले पछि राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।
त्यसपछि सडक व्यवस्थापन, फुटपाथ व्यापार नियन्त्रण र सार्वजनिक स्थान व्यवस्थापनका नाममा महानगर प्रहरीले गरेका गतिविधिहरू विवादमा परे।
सहयोग संकलन गरिरहेका स्ट्रिट सिंगरदेखि फुटपाथ व्यवसायीसम्म
२०७९ असोजमा बसन्तपुरमा क्यान्सर पीडित बालिकाको उपचारका लागि सहयोग संकलन गर्दै गीत गाइरहेका स्ट्रिट सिंगर मञ्जदरस (एमजे) तामाङलाई महानगर प्रहरीले नियन्त्रणमा लिएपछि आलोचना भएको थियो।
ललितपुरकी १३ वर्षीया सुभिता खड्काको उपचारका लागि सहयोग उठाइरहेका तामाङबाट माइक र लाउडस्पिकरसहितका सामग्री नियन्त्रणमा लिइएको थियो। त्यसबेला उनले करिब १४ हजार रुपैयाँ सहयोग संकलन गरिसकेका थिए।
यसअघि महानगरपालिकाले सार्वजनिक स्थानमा भिक्षा माग्ने वा माग्न लगाउने कार्यलाई नियन्त्रण गर्ने सूचना जारी गरेको थियो। त्यसपछि फुटपाथ व्यवसायी, साना व्यापारी र सडक आश्रित समुदायमाथि महानगरको व्यवहारलाई लिएर आलोचना बढ्दै गएको थियो।
फुटपाथ व्यवसायीमाथि बल प्रयोगको आरोप
२०८० फागुनमा सुन्धारामा फुटपाथ व्यवसायी हटाउने क्रममा नगर प्रहरीले बल प्रयोग गरेको आरोप लागेको थियो। व्यवसायीहरूले ठूलो संख्यामा आएका नगर प्रहरीले आफूहरूमाथि लाठी प्रयोग गरेको र भाग्ने मौका समेत नदिएको आरोप लगाएका थिए।
त्यस समयमा अभियन्ता ईः, रक्षा बमलगायतले महानगरको कार्यशैलीको विरोध गर्दै सडकबाट आवाज उठाएका थिए। उनीहरूले कमजोर वर्गमाथि बल प्रयोगभन्दा संवाद र व्यवस्थापन आवश्यक रहेको बताउँदै आएका थिए।
महानगर प्रहरीलाई दंगा नियन्त्रण शैलीको तालिम
२०७९ मंसिरमा थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउने क्रममा भएको विवादपछि महानगर प्रहरीले सुरक्षा सामग्री थप गरेको थियो। हेल्मेट, सुरक्षा उपकरणलगायत सामग्री प्रयोग गर्न थालेपछि महानगर प्रहरीको भूमिकामाथि थप प्रश्न उठेको थियो।
२०८२ असारमा महानगर प्रहरी बलका करिब १६० जवानलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको शैलीमा दंगा नियन्त्रण तथा आत्मरक्षा तालिम दिइएको थियो। महानगरका अधिकारीहरूले कार्यसम्पादनमा आउने अवरोध र सुरक्षाका लागि यस्तो तालिम आवश्यक भएको बताएका थिए।
रक्षा बमको आरोप : ‘संवेदनशीलता हराएको संरचना’
अभियन्ता रक्षा बमले गणेश नेपालीको घटनापछि काठमाडौं महानगरपालिकाको कार्यशैलीमाथि प्रश्न उठाएकी छन्। उनले महानगर प्रहरीभित्र कमजोर वर्ग, सडक व्यापारी र सुकुम्बासीप्रति कठोर व्यवहार गर्ने प्रवृत्ति विकास भएको आरोप लगाएकी छन्।
उनका अनुसार चुनावअघि सडक व्यापारी व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको नेतृत्व सत्तामा पुगेपछि गरिब र सीमान्तकृत समुदायप्रति कठोर बनेको देखिएको छ।
उनले महानगरको नीति र व्यवहारमा मानवीय संवेदनशीलता आवश्यक रहेको भन्दै राज्य संयन्त्र नागरिकमैत्री हुनुपर्ने धारणा राखेकी छन्।
बालेनकालमै महानगर प्रहरीलाई कानुनी अधिकार
काठमाडौं महानगरपालिकामा बालेन्द्र शाह मेयर रहँदा जारी भएको ‘महानगर प्रहरी ऐन, २०८०’ ले महानगर प्रहरीको अधिकारलाई कानुनी आधार दिएको थियो।
उक्त ऐनले महानगर प्रहरीलाई बजार क्षेत्र, सवारी पार्किङ, सडकपेटीमा हुने अनधिकृत अवरोध हटाउने, अनुगमन गर्ने र व्यवस्थापन गर्ने अधिकार दिएको छ।
ऐनको दफा ७ अनुसार महानगर प्रहरीको काम, कर्तव्य र अधिकार स्पष्ट गरिएको छ। यसले विगतमा प्रशासनिक निर्देशनका भरमा सञ्चालन हुँदै आएको महानगर प्रहरीलाई संस्थागत र कानुनी संरचना प्रदान गरेको थियो।
गणेश नेपाली प्रकरणपछि उठेको मुख्य प्रश्न
गणेश नेपालीको आत्मदाह प्रयासले केवल एउटा व्यक्तिगत पीडालाई मात्र होइन, राज्यका स्थानीय संयन्त्रले नागरिकसँग गर्ने व्यवहार, कानुन कार्यान्वयनको शैली र कमजोर वर्गप्रतिको संवेदनशीलताको विषयलाई समेत बहसमा ल्याएको छ।
अबको चुनौती महानगर प्रहरीलाई अधिकार सम्पन्न बनाउने मात्र नभई त्यस अधिकारको प्रयोग नागरिकमैत्री, जिम्मेवार र मानवीय ढंगले गर्ने वातावरण निर्माण गर्नु रहेको देखिन्छ।

Facebook Comments Box
ट्राफिक प्रहरीको खण्डन : आत्मदाह प्रयास ट्राफिक जरिवानाका कारण होइन, महानगर प्रहरीसँग ‘ह्वील लक’ विवादपछि घटना
१३ घण्टा अगाडि

1.8kViews 455 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि २५ वर्षीय गणेश नेपालीले…

TOP
Shares