

राहदानी बनाउने सपना बोकेका गणेशको त्रिपुरेश्वरमा आत्मदाह प्रयास, ६० प्रतिशत शरीर जल्यो
काठमाडौं । वैदेशिक रोजगारीका लागि दुबई जाने तयारीमा रहेका मुगुका २५ वर्षीय गणेश नेपाली अहिले वीर अस्पतालको आइसियूमा जीवनसँग संघर्ष गरिरहेका छन्। बिहीबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरमा शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका नेपालीको शरीरको करिब ६० प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनको छाती, घाँटी, अनुहार र हातमा गम्भीर चोट लागेको छ। स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई वीर अस्पतालको आइसियूमा राखेर उपचार भइरहेको छ।
मुगुको सोरु गाउँपालिका–१ का नेपाली भक्तपुरको कमलविनायकमा बस्दै आएका थिए। उनी विगत दुई वर्षदेखि पठाओमा सेयर राइडिङ गर्दै परिवारको खर्च धान्दै आएका थिए। कृषिमा जेटिए अध्ययन गरेका उनले गाउँमै रोजगारीको अवसर नपाएपछि काठमाडौं आएका थिए।
छ वर्षअघि विवाह गरेका गणेशको काँधमा दुई वर्षकी छोरी, श्रीमती तथा वृद्ध आमाबुबाको जिम्मेवारी थियो। पछिल्लो समय परिवारको भविष्य सुधार्ने उद्देश्यले उनी दुबई जाने योजनामा थिए। सोही प्रयोजनका लागि राहदानीसम्बन्धी जानकारी लिन बिहीबार राहदानी विभाग पुगेका थिए।
प्रहरीका अनुसार गणेश बिहानै यात्रु बोकेर मोटरसाइकलमा त्रिपुरेश्वर पुगेका थिए। यात्रु आफ्नो गन्तव्यतर्फ गएपछि उनले मोटरसाइकल सडक किनारमा पार्क गरी राहदानी विभाग प्रवेश गरेका थिए।
विभागबाट बाहिरिएपछि मोटरसाइकल नजिक पुगेका उनलाई काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मोटरसाइकलको चक्कामा ह्वील लक लगाइसकेको भेटिएको थियो। उनले लक खोल्न आग्रह गरे पनि एक हजार रुपैयाँ जरिवाना नतिरेसम्म लक नखोलिने जानकारी पाएपछि विवाद सुरु भएको प्रहरीले जनाएको छ।
जरिवाना तिर्न अस्वीकार गरेपछि केहीबेर भनाभन भएको थियो। त्यसपछि गणेश त्यहाँबाट निस्किएका थिए भने नगर प्रहरीले मोटरसाइकल बग्गीखाना लैजान प्रक्रिया अघि बढाएको थियो।
केही समयपछि पुनः मोटरसाइकल नजिक आएका गणेशले प्लास्टिकको बोतलबाट पेट्रोल निकालेर शरीरमा खन्याई आगो लगाएको प्रहरीले जनाएको छ। सडकमा जलिरहेको अवस्थामा देखेपछि प्रहरीले तत्काल उद्धार गरी आगो निभाएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले प्रारम्भिक अनुसन्धानमा गणेशले आफैँ मोटरसाइकलबाट पेट्रोल निकालेर आगो लगाएको देखिएको बताए।
“उनी राइडर रहेछन्। पार्किङ गरेको मोटरसाइकलमा नगर प्रहरीले लक लगाएपछि विवाद भएको देखिन्छ। त्यसपछि उनले पेट्रोल निकालेर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,” एसपी भट्टराईले भने।
काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार गणेश राहदानी बनाउने विषयमा जानकारी लिन विभाग पुगेका थिए। उनका अनुसार विभागबाट बाहिरिँदा उनले “मेरो राहदानी नबन्ने भयो” भन्दै निराशा व्यक्त गरेका थिए।
यो घटनाले वैदेशिक रोजगारीको बाध्यता, बेरोजगारी र आम नागरिकले भोग्ने प्रशासनिक झन्झटका विषयमा गम्भीर प्रश्न उठाएको छ। परिवारको भविष्य सुधार्ने सपना बोकेर हिँडेका एक युवाले निराशाको क्षणमा गरेको आत्मघाती कदमले समाजलाई सोच्न बाध्य बनाएको छ।
समाज
थप सामाग्री-
गणेश नेपाली प्रकरणपछि महानगर प्रहरीको भूमिकामाथि बहस, बालेनकालीन संरचनादेखि अधिकार विस्तारसम्म प्रश्न
-
गणेश नेपालीको मृत्युको विरोधमा माइतीघरमा प्रदर्शन, दोषीमाथि कारबाहीको माग
-
नागरिकको जीवन र सम्मानको रक्षा गर्न सरकार जिम्मेवार बन्न संयुक्त नागरिक पार्टीको माग
-
राहदानी बनाउने सपना बोकेका गणेशको त्रिपुरेश्वरमा आत्मदाह प्रयास, ६० प्रतिशत शरीर जल्यो
-
आज असार २६ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
ट्राफिक प्रहरीको खण्डन : आत्मदाह प्रयास ट्राफिक जरिवानाका कारण होइन, महानगर प्रहरीसँग ‘ह्वील लक’ विवादपछि घटना
१४ घण्टा अगाडि
1.8kViews 455 Shares Share on Facebook Share on Twitter काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि २५ वर्षीय गणेश नेपालीले…





