अव्यवस्थित ठेलागाडा हटाउन थालियो

बलेवा ।बागलुङ नगरपालिकाले अव्यवस्थित पोल हटाउने क्रमसँगै बजारमा अव्यवस्थित रुपमा राखिएका ठेलागाडा नियन्त्रणमा लिन थालेको छ ।

बजारमा सवारी चापसँगै बढेको जाम हटाउन जथाभावी राखेर व्यापार गरिएका ठेलागाडा, फुटपाथ ढाकेर राखिएका व्यापारिक सामान, अलपत्र छाडिएका निर्माण सामग्री तत्काल हटाउन चेतावनी दिएको बानपा–२ का वडा सदस्य तथा अव्यवस्थित तारपोल हटाउने समितिका सदस्य अर्जुन घिमिरेले बताउनुभयो । “पहिलो पटक भेटिएकालाई चेतावनी दिएका छौँ, दोस्रो पटक भेटिएका सामान उठाएका छौँ”, घिमिरेले भन्नुभयो, “अलपत्र भेटिएका केही ठेलागाडी नियन्त्रणमा ल्याइसकिएको छ ।” ठेलागाडा उठाउन थालेपछि कतिपयले भागाभाग गरेर लुकाएका थिए । घर छेउमा फालिएका फोहोर, ढुङ्गामाटो र गिट्टी समेतले आवागमनमा असर पुगेको स्थानमा नगरपालिकाको ट्र्याक्टरमा सामान उठाएको छ । केहीले सडकमा अव्यवस्थित छाडेका अन्य व्यपारिक प्रयोजनका घुम्ती पसल र काठका बाकससमेत उठाइएको हो । सदरमुकामस्थित बागलुङ बजारमा तीन सयभन्दा बढी ठेलागाडा भएको अनुमानपछि यो काम थालिएको घिमिरेले जानकारी दिनुभयो । ठेलागाडामा राखेर कर नतिरेका तथा अव्यवस्थित रुपमा राखेर सामान बेचेको भेटिएपछि नगरपालिकाले नियमन गर्न थालेको थियो । उद्योग वाणिज्य सङ्घले पनि कर नतिरेका सामान ठेलागाडामा राखेर जथाभावी बेच्दा कर तिर्नेलाई मर्का परेको गुनासो गरेको थियो । त्यस्तै सडक अवरुद्ध हुने गरी उनीहरुले सामान राख्दा ट्राफिक जाम बढेको थियो ।

यस्तै, नगरपालिकाले ५० बढी अव्यवस्थित पोल पनि हटाएको छ । विद्युत्का पोल नगरपालिकाले आफँै व्यवस्थापन गर्दैछ भने टेलिकमको पोल भए टेलिकमले नै व्यवस्थापन गरिरहेको छ । “अव्यवस्थित पोल काटेर हटाउँदा सडक केही फराकिलो बनेको छ”, नगरपालिकाका योजना अधिकृत युक्तप्रसाद सुवेदीले भन्नुभयो, “बजार अनुगमन र व्यवस्थापनका लागि विशेष कार्यविधि र कार्यक्रममार्फत नियमित गरिने छ ।”

आगामी पुसमा हुने नगर परिषद्मा कार्यविधि बनेर कार्यान्वयनमा आउने उहाँले जानकारी दिनुभयो । बागलुङ बजारमा फुटपाथ छैन । साँघुरो सडक, दायाँबायाँ सवारी साधन रोकिदिने र निर्माण सामग्रीसमेत जथाभावी राखिदिँदा पैदलयात्रीले पनि सास्ती खेपेका छन् भने दुर्घटनाको जोखिम बढेको छ ।

Facebook Comments Box
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
१ दिन अगाडि

3.1kViews 270 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुखका रूपमा प्रहरी नायब महानिरीक्षक (डिआईजी)…

TOP
Shares